काठमाडौं । कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको चिकित्सकले बताएका छन् । नयाँ–नयाँ भेरियन्टहरू देखिने क्रम जारी रहेका बेला नेपालमा डेल्टा भेरियन्टबाट म्युटेसन भएको डेल्टा प्लस भेरियन्ट भाइरस १२ जनामा देखिएको छ ।
नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको चिकित्सकले बताएका छन् । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी फैलि रहेको छ । डेल्टा भेरियन्टबाट म्युटेट भएको डेल्टा प्लस भेरियन्ट समेत देखिन थालेको विज्ञहरू बताउँछन् ।
भाइरस बढी संक्रामक हुने र खोप तथा कुनै औषधिले काम नगर्ने अवस्थालाई ‘भेरियन्ट अफ कर्न्सन’ भनिन्छ । विश्व स्वास्थ्य संगठनले अहिले डेल्टा र अल्फा भेरियन्टलाई ‘भेरियन्ट अफ कर्न्सन’को संज्ञा दिएको छ ।
भाइरस बारम्बार म्युटेसन भइरहँदा खोपको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ । खोपले कामै गर्न छाड्ने सूचना भ्रममात्र भएको भाइरोलोजिष्ट डा. शेरबहादुर पुन बताए ।
कुनै म्युटेसन बढी संक्रामक हुने भएकाले खोप तथा औषधिले काम नगर्ने अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । अहिले संक्रामक रूपमा फैलिएको डेल्टा भेरियन्टमा पनि खोप प्रभावकारी नै देखिएको छ ।
खोप लगाएका व्यक्तिहरूमा संक्रमण देखिए पनि गम्भीर अवस्था आएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था नआएको चिकित्सक बताउँछन् । भाइरसको फैलावटलाई कम गर्न सके म्युटेसन पनि कम हुने भएकाले सबैलाई खोप दिनु नै संक्रमण नियन्त्रणको उत्तम विकल्प रहेको ठकर चिकित्सकले गरेका छन् ।