स्थानीय तहको निर्वाचनलाई कसरी सम्पन्न गरिदै छ ? देशभरको अवस्था कस्तो छ ? मतदान स्थल निर्माण र सुरक्षा संयन्त्रका विषयमा कैलाश खबरले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासंग कुराकानी गरेको छ । मतदान गर्ने समय नजिकै आएको बेला निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापहरु पनि भइरहेका छन् । यस्ता घटना बाहिरिएसंगै कस्तो कारबाही हुन्छ ? नयाँ मतदातालाई कसरी सहभागि गराउँदै छ आयोग ? यी र यस्तै विषयमा गरिएको कुराकानीकाे सारसंक्षेप यहाँ प्रस्तुत छ: सम्पादक
यहाँलाई स्वागत छ ।
धन्यबाद ।
अहिले देशभर के के भइरहेको छ ?
सबै निर्वाचन केन्द्र (२१ हजार ९५५ वटै) मतदान स्थलको निर्माण भइरहेको छ । मतदान केन्द्र वा स्थलबाटै मतदातालाई सहायता कक्ष स्थापना गरी तयारी पुरा भएको छ । शतप्रतिशत निर्वाचनका लागि चाहिने कार्य सम्पन्न भएको छ । मतदाता नामावली व्यवस्थापनको काम पनि पूरा भएको छ ।
निर्वाचन आचारसंहिता उलंघनका घटना भइरहेका छन् नि ? यसलाई आयोगले कसरी हेरिरहेको छ ?
आयोगले यससंवन्धि एउटा संयन्त्र नै बनाएर हेरिरहेको छ । हामीले नजिकबाट नियालीरहेका छौं । केही जिल्लामा केही घटना भएका छन् । निर्वाचन विथोलिने किसिमले घटना घटेका छैनन् । कतिपय ठाउँमा कारबाहीका लागि पनि अनुरोध गरिसकेका छौँ । निर्वाचन आचार संहिता विपरीतका कार्य गर्नेलाई कारबाही गर्ने विषयमा छलफल पनि अघि बढाएका छौँ ।
सिमाक्षेत्र दार्चुलालाई निर्वाचन आयोगले कसरी हेरिरहेको छ ?
हामीले ज्वाइन्ट इलेक्शन कल सेन्टर स्थापना गरी आईटी सेक्सनमार्फत सिधा सम्पर्कमा छौं । सबैतीरको सूचनालाई व्यवस्थित र निरन्तर सम्पर्कमा हुने छौं । ७५३ वटै निर्वाचन कार्यालयसंग हामी सिधा सम्पर्कमा छौं । सबै क्षेत्र राम्रो छ ।
सुरक्षा अवस्था कस्तो छ ?
एकदम तयारी अवस्थामा सुरक्षाकर्मी परिचालन छ । निर्धक्क भएर मतदाताले मतदान गर्न सक्ने छन् । सुरक्षा व्यवस्था राम्ररी मिलाएका छनैं । यो निर्वाचन चाडपर्व जस्तै भएको जसरी विदेश गएका नेपालीहरु पनि फर्कि रहेका छन् । तडक भडक केही नभएका होइनन् । तर पनि हामीले सहजै लिएर समाधान पनि गरेका छौं । जनता पनि निकै खुसी भएका छन् । स्थानीय तहमा काम गर्ने र गर्ने छु भन्ने उम्मेदवार पनि उत्साहित छन् ।
विदेशमा रहेका नेपालीले म विदेशमा रहेको मान्छेले निर्वाचनमा भोट हाल्न पाए हुन्थ्यो भनेका छन् नि ?
स्थानीय तहको निर्वाचन भएकाले स्थानीय तहमानै आएर भोट हाल्न पाउनु हुन्छ । तर कानुनी तहमा त्यस्तो व्यवस्था नभएकाले हामीले यति बेला मतदान गराउँन सक्दैनौं । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा भने जो जहाँ छ त्यहीबाट नै भोट हाल्न पानुपर्छ भन्ने लविङ्ग भएकाले कानुनी जटिल्ताको सुल्झन हामी गर्न तयार हुनेछौं । तर विदेशमा रहेका मानिसका लागि पनि आउँदो चुनावमा भने सबैसंग छलफल गरेर सोचौंला ।
यो निर्वाचनमा नयाँ अभ्यास के छ ?
केही नयाँ कुरा गरेका छौँ । यो निर्वाचनमा २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने सबै मतदातालाई मतदानको अधिकार दिएका छौँ । उम्मेदवारी दर्ताको प्रक्रियामा पनि केही नयाँ काम गरेका छौँ । पदमा बहाल रहेको व्यक्तिले नपाउने, पेस्की बेरुजु गरेको व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेका छौँ ।
ठेक्कापट्टामा जोडिएको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था गरेका छौँ । आचारसंहिता उल्लंघनका घटना कम गर्न तथा उम्मेदवारको खर्चलाई कम गर्न मापदण्ड नै बनाएर व्यवस्थापन गरेका छौं । आमसभा, विभिन्न चिन्ह, झण्डा, झोला, कपडाको प्रयोग गर्ने कुरामा रोकेका छौँ । इभोटिङ्गमा जाने भनेका थियौं तर पेपर भोटिङ्ग मै यसलाई परिवर्तन गर्नु पर्छ ।
यो सम्भव छ र ?
सम्भव छ । यसको अभ्यास गर्नु पर्छ । एकै पल्ट भन्दा पनि सुधारको प्रक्रियामा जानु पर्छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
निर्वाचन केही घण्टामा सुरु हुदैछ । यसमा आचारसंहिता उलंघन गरेकालाई कस्तो कारबाही हुन्छ ?
पहिले के हो अनुसन्धान गछौं । उलंघन गरेकै भेटिए उम्मेदवारी नै क्यान्सील गर्ने छौं । ९० प्रतिशत झण्डा, तुल, व्यानर हटाउन सफल भएका छौं २०५ जना बढीलाई कारबाही गरेका छौं ।
खतरनाक कुरा मौन अवधिमा भोट किन्न थालेको भन्ने कुरा पनि आएको छ नि ?
हाम्रा सचेत मतदाताले नै यस विषयमा सोच्नु पर्छ । आयोगले खोजीनीति गरिरहेको छ । अनुगमन टोली परिचालन गरेका छौं । प्रमाणसहित उजुरी आएमा ठाउँको ठाउँ कारबाही गर्दछौं ।
खर्चको अवस्था कस्तो छ ?
मापदण्डभन्दा बाहिर गएर उम्मेदवारले गर्ने खर्चको पनि सूक्ष्म अनुगमन गरिरहेका छौं । उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्चको विवरण पेस गरे पनि हामीले उम्मेदवारले पेस गरेको खर्चको विवरण र अनुगमनकर्ताबाट भएको सूक्ष्म अनुगमनको रिपोर्टलाई भिडाएर हेर्नेछौं । त्यसैले निर्वाचनमा खर्च घट्ने अपेक्षा हामीले गरेका छौँ ।
अन्तमा मतदातालाई के भन्नु हुन्छ ?
बालिक मताधिकार गर्ने व्यक्तिले सही र योग्य व्यक्तिलाई छान्न अनुरोध गर्दछु । सुरक्षाको सम्पूर्ण तयारी पुरा गरेकाले निर्धक्क भएर मतदान गर्न पनि आग्रह गर्दछु । मतदानको पूर्व सन्ध्या भएकाले निर्वाचनका दिन हार्दिकताकासाथ भाग लिन पनि आग्रह गर्दछु । अहिलेसम्म सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु ।
सबै उम्मेदवार र मतदाता संयमित भइदिनुस् । दस्तखत भएको छ छैन हेरेर मात्र मतपत्र लिनु र दिनु होस् । मतदान सबैभन्दा ठूलो दान हो । पाँच वर्षमा एक पटक मात्र मतदान गर्न पाइने भएकाले सहि व्यक्तिलाई छान्नुस् । जित हार हुन्छ नै हारेकाले नआत्ति न र जितेकालाई नमात्तिन अनुरोध गर्दछु सबैलाई शुभकामना भन्न चाहन्छु । धन्यवाद
