कात्तिक १५ देखि १८ गतेसम्मको वर्षाले ७०% धानबालीमा क्षति
९,९८८.०३ हेक्टर क्षेत्रफलमा धानखेती, जसमा ६,९९१.६ हेक्टर नष्ट
किसानहरूले काटेको धान आलीमै उम्रिन थालेको
किसानहरू भोकमरीको चिन्तामा, राहत माग
सबै १० स्थानीय तहमा असर, उत्पादन करिब २६ हजार मेट्रिक टनबाट ७०% घट्ने सम्भावना
खोटाङ, २२ कार्तिक । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ।
कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र १० प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ। जसमध्ये छ हजार ९९१।६ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए।
केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसान यसअघि वर्षाले क्षति पुर्याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन्। थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा जुटिरहेका हुन्। ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुबाट समेत धान जोगाउने हतारोमा छन्।
देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ। १५ वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ। यसमा करिब आठ हजार ९९५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ।
विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिए। “अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन्। अविरल वर्षाले धान, कोदो, फापरलगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ”, उनले भने, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ। यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ।”
हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए। जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ। यसमा ३०८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने गरेको छ।
जन्तेढुङ्गा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ। सात वडा रहेको यो गाउँपालिकामा २४०।९६ हेक्टरमा धानखेती गरिन्छ। यसमा करिब ६१९।२७ मेट्रिक टन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ।
बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ। यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए। यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ। यसमध्ये एक हजार ६८८।४९ मेट्रिक टन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ।
खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए। यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ। गाउँपालिकामध्ये सबैभन्दा ठूलो ९नौ वडा रहेको० यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ। यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्याएको छ।
साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४।५ मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७।५ मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। जिल्लाका १० वटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। रासस
