“बागमती प्रदेशमा विपद्को असर, धान उत्पादनमा ठुलो गिरावट आउँदै”

“बागमती प्रदेशमा विपद्को असर, धान उत्पादनमा ठुलो गिरावट आउँदै”

मुख्य बुँदा 

चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशमा धान उत्पादन घट्ने अनुमान।

गत वर्षको तुलनामा धानखेतीको क्षेत्रफल १ लाख १२ हजार ४६० हेक्टरमा घट्ने अनुमान।

धानको प्रतिहेक्टर उत्पादकत्व ३.६ मेट्रिक टन रहने अपेक्षा, गत वर्ष ३.९ मेट्रिक टन थियो।

यस वर्ष कुल उत्पादनमा करिब ४४ हजार ८५० मेट्रिक टन कमी हुने अनुमान।

मोन्था चक्रवात र असोज १८–२० को वर्षाले प्रदेशका १० जिल्लामा धानबालीमा ठूलो क्षति पुर्‍याएको।

प्रभावित क्षेत्रफल: ५,४६५.३५ हेक्टर, नष्ट धान: १२,२१४.२६ मेट्रिक टन, कुल आर्थिक नोक्सानी: २२ करोड २४ लाख रुपैयाँ।

सबैभन्दा बढी क्षति नुवाकोटमा: ३,१२८.५८ हेक्टर क्षेत्रफल, ५,०८७.२१ मेट्रिक टन धान नष्ट, नोक्सानी १ करोड ८३ लाख रुपैयाँ।

अन्य प्रभावित जिल्लाहरू: रामेछाप, सिन्धुली, दोलखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रे, चितवन।

मकवानपुर, २१ कार्तिक। बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन घट्ने अनुमान गरिएको छ। गत वर्ष २०८१/८२ को तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल र उत्पादकत्व दुवै घट्ने देखिएको छ।

प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष १ लाख १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो र कुल उत्पादन ४ लाख ४८ हजार ५०० मेट्रिक टन रहेको थियो। त्यतिबेला धानको प्रतिहेक्टर उत्पादकत्व ३.९ मेट्रिक टन रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए।

चालु वर्षका लागि अनुमानित तथ्याङ्क अनुसार, धानखेतीको क्षेत्रफल १ लाख १२ हजार ४६० हेक्टरमा सीमित हुने अपेक्षा गरिएको छ। प्रतिहेक्टर उत्पादकत्व पनि घटेर ३.६ मेट्रिक टन रहने अनुमान छ। क्षेत्रफल र उत्पादकत्व दुबै घट्दा कुल उत्पादनमा करिब ४४ हजार ८५० मेट्रिक टन कमी आउने देखिएको छ।

विपद्को असरले धानबालीमा ठूलो नोक्सानी पु-याएको छ। मोन्था चक्रवात र असोज १८–२० गतेको वर्षाले बागमती प्रदेशका १० जिल्लामा धानखेती प्रभावित भएको छ। प्रभावित क्षेत्रफल ५,४६५.३५ हेक्टर र नष्ट धान १२,२१४.२६ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ। कुल आर्थिक नोक्सानी करिब २२ करोड २४ लाख रुपैयाँ बराबरको अनुमान गरिएको छ।

सबैभन्दा बढी क्षति नुवाकोटमा परेको छ। यहाँ ३,१२८.५८ हेक्टर धानबाली प्रभावित भएको र ५,०८७.२१ मेट्रिक टन धान नष्ट भएको छ। कृषकहरूको कुल नोक्सानी १ करोड ८३ लाख १३ हजार रुपैयाँ पुगेको छ। रामेछाप, सिन्धुली, दोलखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रे र चितवन जिल्लामा समेत विपद्ले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

रामेछाप: १३३.१० हेक्टर प्रभावित, ५१४.१० मेट्रिक टन नष्ट, नोक्सानी १ करोड ६८ लाख ५३ हजार। सिन्धुली: १,०९८ हेक्टर प्रभावित, ३,५८०.२० मेट्रिक टन नष्ट, नोक्सानी १ करोड १७ लाख १८ हजार।

दोलखा: ८३२.१७ हेक्टर प्रभावित, २,३२४.५१ मेट्रिक टन नष्ट, नोक्सानी ५४ लाख ४२ हजार। धादिङ: ७९ हेक्टर प्रभावित, २६९.५० मेट्रिक टन नष्ट, नोक्सानी ८६ लाख २४ हजार।

सिन्धुपाल्चोक: १७ हेक्टर प्रभावित, ४२.१२ मेट्रिक टन नष्ट, नोक्सानी १३ लाख ८६ हजार। रसुवा, मकवानपुर, काभ्रे, चितवन: क्रमशः १५६.३०, १६, १४.५, २० हेक्टर प्रभावित; २५७.५२, ५१.२०, १२.५, ७५.४० मेट्रिक टन नष्ट; नोक्सानी ९ लाख २७ हजार, १८ लाख १५ हजार, ४ लाख १२ हजार, २६ लाख ७३ हजार। प्रदेशका कृषकहरूलाई तत्काल राहत र पुनःस्थापना आवश्यक रहेको कृषि मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.