काठमाडौं, १९ फागुन । अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो सुरक्षित रूपमा बाहिरिन आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम बढेकाले क्षेत्र छोड्न आफ्ना नागरिकलाई सल्लाह दिएको हो । यस चेतावनीमा वेष्ट बैंक, गाजा, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन् ।
इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चर्किएको छ । त्यसपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साउदी अरबको रियादस्थित अमेरिकी दूतावास क्षेत्रमा ड्रोन आक्रमण भएको विवरणसमेत सार्वजनिक भएको छ । क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।