भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती, वार्षिक ७०० क्विन्टलभन्दा बढी उत्पादन

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती, वार्षिक ७०० क्विन्टलभन्दा बढी उत्पादन

कैलाली । कर्णाली नदी किनारको बगरमा पछिल्लो समय लोभलाग्दो प्याजखेती फस्टाउँदै गएको छ ।

टीकापुर नगरपालिका–८ का पुनिराम थारू विगत पाँच वर्षदेखि नदी किनार तथा टापुमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता र राम्रो उत्पादनका कारण उनले प्याजखेतीलाई प्राथमिकता दिएका हुन् ।

उनले बर्सेनि १० देखि १२ क्विन्टल प्याज उत्पादन गर्दै आएका छन् । प्याजसँगै धनिया, मकै, बन्दागोभी र टमाटरसमेत उत्पादन हुने गरेको छ । बालुवायुक्त जमिनमा प्याजले राम्रो उत्पादन दिने र सिँचाइको सुविधा उपलब्ध हुँदा थप फाइदा हुने किसानहरूको अनुभव छ । टीकापुर र राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्र अहिले हरियालीले ढाकिएको छ । ढुङ्गा नभएको बालुवायुक्त क्षेत्रमा साना–साना प्लट बनाएर लहरै प्याजखेती गरिएको दृश्य आकर्षक देखिन्छ ।

वडा नम्बर ८ फाँटागाउँका करिब ५०–६० घरपरिवारले नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि करिब ७०० क्विन्टलभन्दा बढी प्याज उत्पादन हुने गरेको स्थानीय बताउँछन् ।

स्थानीय सम्झनी चौधरीका अनुसार एक परिवारले न्यूनतम पाँच–छ क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन् । उत्पादन सोचेभन्दा राम्रो हुने भएकाले बगरमा खेती गर्ने किसानको सङ्ख्या वर्षेनि बढ्दै गएको छ ।

बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक पाँच केजी प्याज रोपेर परीक्षण गरेकी छन् । अपेक्षाभन्दा राम्रो उत्पादन देखिएपछि उनी उत्साहित छन् । अन्य खेतबारीभन्दा बगरमा उत्पादन राम्रो हुने अनुभव उनले सुनाइन् । पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेकी छन् । खेर गइरहेको बगरबाट उत्पादन सम्भव भएपछि घरायसी आवश्यकताका लागि खेती थालेकी हुन् ।

विगतदेखि व्यावसायिक रूपमा खेती गर्दै आएका किसानले भने बगरको सदुपयोग गरी आम्दानीको मुख्य स्रोत बनाएका छन् । खेती गरेबापत कसैलाई भाडा वा शुल्क नतिर्नु परेकाले किसान थप उत्साहित देखिन्छन् ।

वर्षायाममा कर्णाली नदी को बाढीका कारण चिन्तित हुने स्थानीय बासिन्दा आजभोलि त्यहीँ नदीको बालुवायुक्त फाँटबाट प्राप्त उत्पादनले आर्थिक सशक्तिकरणतर्फ उन्मुख भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.