भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

चार हजार कुखुरा, दैनिक २५००–३००० अण्डा उत्पादन

चार हजार कुखुरा, दैनिक २५००–३००० अण्डा उत्पादन

महेन्द्रनगर, २२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका धर्मेन्द्र राना हाल अण्डा उत्पादन व्यवसायबाट मासिक करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।

रोजगारीको सिलसिलामा एघार वर्षअघि मलेसिया पुगेका राना वर्ष दिनमै तलब नपाएपछि फर्किएको बताउँछन्। २०१४ मा मलेसिया पुगेका उनी त्यहाँको एजेन्सीले भनेअनुसार तलब नदिएपछि घर फर्किए।

त्यसपछि भारतका विभिन्न ठाउँमा रोजगारी खोज्दै दौडधुप गरेका राना दुई वर्षअघि स्वदेशमै व्यवसाय सुरु गर्ने उद्देश्यले गाउँ फर्किएका थिए। रानाले गाउँमै कुखुरा फार्म बनाएर अण्डा उत्पादन सुरु गरेपछि छोटो समयमै उल्लेख्य सफलता पाएका छन्।

“अहिले करिब चार हजार कुखुराले उत्पादन गर्दै छन्,” उनले बताए, “मासिक नौ–दस लाख रुपैयाँको कारोबार हुन्छ, मुनाफा करिब दुई लाख ५० हजार जति आउँछ।” उनका अनुसार कात्तिकदेखि माघ महिनासम्म अण्डाको व्यापार विशेष रूपमा राम्रो हुने गर्दछ।

एक हजार पाँच सय कुखुरा पालेर सुरु गरेको व्यवसाय अहिले विस्तार भएर चार हजारको हाराहारीमा पुगेको छ। तीस लाखको लगानीबाट सुरु गरेको फार्म अहिले करिब ८० लाख रुपियाँ बराबरको कारोबारमा उक्लिएको रानाले बताए। दैनिक २५ सयदेखि ३ हजारसम्म अण्डा बिक्री हुन्छ।

मलेसिया बसाइका क्रममा मामा सीताराम रानालाई भेट्दा आफूमा अण्डा उत्पादन व्यवसाय गर्ने प्रेरणा मिलेको उनले सम्झिए। लगानीको समस्या हुँदा उनले भारत जाने र घरमा रहेको धान कुटानी मिल बिक्री गरेर आएको रकमलाई व्यवसायमा लगानी गरेका थिए।

उनी कञ्चनपुरमै पहिलो पटक ‘केज–स्टक (Cage Stock)’ आधुनिक प्रविधि प्रयोग गरी कुखुरा पालन सुरु गर्ने व्यवसायी पनि हुन्। “राना थारु समुदायमा परम्परागत कुखुरा पालन पुरानै चलन हो, तर आधुनिक प्रविधिबाट व्यावसायिक पालन सुरु गर्ने काम मैले नै गरेको हुँ,” उनले भने।

कृषि ज्ञान केन्द्र वा पशु सेवा कार्यालयबाट कुनै पनि प्रकारको अनुदान नपाएको रानाको गुनासो छ। उनी हालको आम्दानीबाट नै फार्म विस्तारमा थप लगानी गरिरहेका छन्। रानाका अनुसार बजारको कुनै कमी छैन।

“कञ्चनपुरका सबै पालिकामा दैनिक रूपमा अण्डा वितरण गरिरहेको छु,” उनले भने, “स्वदेशमै उत्पादनमूलक काम गर्ने युवालाई सरकारले विशेष प्रोत्साहन दिनुपर्छ।”

उनले निम्न आय भएका युवालाई कृषि तथा उत्पादन क्षेत्रतर्फ आकर्षित गर्न स्थानीयदेखि संघीय सरकारले सहयोगी प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

“वास्तविक किसानसम्म सहयोग पुग्यो भने धेरै युवा विदेश जानुपर्दैन, घरमै रोजगारी पाउँछन्,” रानाले भने।

 


Thali Mobile Pvt.Ltd.