काठमाडौँ, २१ जेठ । नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
आज राति कोशी र मधेस प्रदेशका साथै देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
