भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन

काभ्रेपलाञ्चोक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ ।

समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले जानकारी दिए । उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टिकरणको काम भइरहेको छ ।

“जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो”, लामाले भने । उनले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताए। “रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टिकरणको काम सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ”, सदस्य लामाले भने ।

समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरणकार्य थालिएको जनाइएको छ ।

जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरुप आयोगको मापदण्डअनुसार निस्सा दिइने लामाले बताए । जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागाइँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो ।

समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास छ । आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ जना रहेको तथ्याङ्क छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.