काठमाडौं, ९ असाेज । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख सडकमार्गहरू प्रभावित भएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।
पृथ्वी राजमार्गको अवरोधका कारण काठमाडौं बाहिरिने सवारीसाधनलाई बल्खु तथा अन्य क्षेत्रमा रोकिएको छ। धादिङतर्फ पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी आवागमन भइरहेको जनाइएको छ।
यता, पृथ्वी राजमार्गलगायत अन्य सडकमा समस्या आएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा पनि सवारी व्यवस्थापन कडा बनाइएको छ। प्रशासनले इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्काभन्दा बढी र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न नदिने व्यवस्था गरेको छ।
यसका कारण काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने मालवाहक सवारीसाधनको चाप बल्खु, कलंकी, नागढुंगा लगायतका क्षेत्रमा बढेको छ। लगातारको वर्षाका कारण सडकमा पहिरो, ढुंगा खस्ने तथा लेदो आउने जोखिमसमेत रहेकाले विभिन्न स्थानमा सवारीसाधन होल्ड गरिएको छ।
नागढुंगा–नौबिसे सडकखण्डमा पनि बिहीबार साँझदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधनसहित अन्य सवारी रोकिएका छन्। सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउने तयारी गरिएको जनाइएको छ।
सम्बन्धित निकायले जोखिमपूर्ण अवस्थामा अनावश्यक यात्रा नगर्न तथा लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्। लगातार वर्षा भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रुले आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्नु उपयुक्त हुने देखिन्छ।
