काठमाडौं, ९ असाेज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक ट्रयाक फेरि जोखिममा परेको छ। त्रिशूली नदीले सडकको तल्लो भाग निरन्तर कटान गर्न थालेपछि नयाँ ट्रयाकसमेत भासिने खतरा बढेको हो।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुगेपछि यातायात सञ्चालन सहज बनाउन कृष्णभीरमा वैकल्पिक ट्रयाक निर्माण गरिएको थियो।
तर, पछिल्लो समय भइरहेको निरन्तर वर्षा र नदीको बहावका कारण वैकल्पिक ट्रयाकको तल्लो भागमा समेत कटान तीव्र बनेको छ। नदीले जमिन कटान गर्दै गएपछि सडकको जग कमजोर बन्दै गएको र ट्रयाक नै बग्ने जोखिम देखिएको छ।
कृष्णभीर भौगोलिक रूपमा संवेदनशील क्षेत्र मानिन्छ। यस क्षेत्रमा पहिरोको जोखिमसँगै त्रिशूली नदीको कटानसमेत बढेपछि राजमार्गको स्थायित्वमा थप चुनौती देखिएको छ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक कटानका कारण यातायात प्रभावित भइरहेका बेला वैकल्पिक सडकसमेत जोखिममा पर्नुले काठमाडौंसँगको सडक सम्पर्कमा थप समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे अनुगमन गरिरहेको छ। तर, नदी नियन्त्रण तथा सडक संरक्षणको काम चुनौतीपूर्ण बनेको छ।
राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा समस्या दोहोरिँदा यात्रु तथा मालवाहक सवारी प्रत्यक्ष प्रभावित हुने गरेका छन्। वैकल्पिक ट्रयाक पनि सुरक्षित नरहेपछि यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।
त्रिशूली नदीको कटान तत्काल नियन्त्रण गर्न नसकिए नयाँ ट्रयाक नै बग्ने र पुनः सडक सम्पर्क विच्छेद हुन सक्ने जोखिम रहेको छ। त्यसैले अहिलेको चुनौती वैकल्पिक सडकलाई कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित भएको छ।
