भक्तपुरको बोडे र काठमाडौंको मुलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि आवागमन रोकिएको छ।
पुलसँगैको ग्याविन जाली भासिएपछि सुरक्षाका लागि पुलबाट आउजाउमा रोक लगाइएको हो।
अविरल वर्षाका कारण खस्याङ खुसुङ खोलाको बहाव बढेर डेकुचा–चाँगुनारायण सडकसम्म पुगेको छ।
लोकन्थलीको सागबारीमा नदीको सतह बढेर अस्थायी टहरासम्म पानी पुगेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
बालकोट–लोकन्थली सीमामा हनुमन्ते, मनोहरा र गोदावरी खोलाको बहाव बढेकाले आसपासका क्षेत्रमा जोखिम बढेको छ।
भक्तपुर, ९ असाेज । अविरल वर्षाका कारण काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि उक्त पुलबाट आवागमनमा रोक लगाइएको छ।
पुलसँगै रहेको ग्याविन जालीको भाग भासिएपछि पुलको सुरक्षालाई ध्यानमा राख्दै आवागमन रोकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिएका छन्।
उक्त पुलबाट मुलपानी र भक्तपुरतर्फ सवारी तथा स्थानीयको आवागमन हुँदै आएको थियो। तर, लगातारको वर्षाका कारण पुल आसपासको जमिन कमजोर बनेपछि जोखिम बढेको प्रहरीले जनाएको छ।
यसैबीच, भक्तपुरको खस्याङ खुसुङ खोलामा पानीको सतहसमेत बढेको छ। डेकुचा हुँदै चाँगुनारायणतर्फ जाने सडकसम्म खोलाको बहाव पुगेपछि सो क्षेत्रमा समेत आवागमन प्रभावित भएको छ।
लगातारको वर्षाका कारण लोकन्थली नजिकैको सागबारी क्षेत्रमा पनि नदीको सतह बढेर अस्थायी टहरासम्म पानी पुगेको प्रहरीले जनाएको छ।
पानीको बहाव बढेपछि प्रहरीले टहरामा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकै रहेको आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा राखिएको एसपी खड्काले जानकारी दिएका छन्।
बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी क्षेत्रमा हनुमन्ते, मनोहरा र गोदावरी खोलाको बहाव एकै ठाउँमा मिसिने भएकाले पानीको सतह बढ्दा जोखिम बढ्ने गरेको छ।
बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेकाले भक्तपुर तथा काठमाडौं उपत्यकाका नदी तथा खोलाको बहाव बढिरहेको छ। नदी तथा खोलाको आसपासका बस्ती र जोखिमयुक्त सडक क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा आवश्यक निगरानी बढाउनुका साथै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावित सडकमा आवागमन नियन्त्रण गर्ने काम गरिरहेको जनाएको छ।
