भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् ।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिइसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।” अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ ।

विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका उनी असारमा खडेरी पर्दा किसानलाई ठुलो क्षति भएको बताउँछन् । समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन् ।

झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने किसान अकासे पानीमा निर्भर छन् ।धान उत्पादनका लागि उर्वर भूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशत मात्र रोपाइँ भएको बताए ।

उनले भने, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।” कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठुलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो ।

त्यसपछि खेतमा रोपाइँ हुने गरी वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९।१८ हेक्टरमा धान खेती हुने गरेको विष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ । जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन् ।

कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन । रासस

 


Thali Mobile Pvt.Ltd.