भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् ।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिइसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।” अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ ।

विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका उनी असारमा खडेरी पर्दा किसानलाई ठुलो क्षति भएको बताउँछन् । समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन् ।

झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने किसान अकासे पानीमा निर्भर छन् ।धान उत्पादनका लागि उर्वर भूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशत मात्र रोपाइँ भएको बताए ।

उनले भने, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।” कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठुलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो ।

त्यसपछि खेतमा रोपाइँ हुने गरी वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९।१८ हेक्टरमा धान खेती हुने गरेको विष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ । जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन् ।

कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन । रासस

 


Thali Mobile Pvt.Ltd.