काठमाडौं । डेंगुको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन हुने भएको छ । सरकारले बिहीबार साँझ मन्त्रिपरिषद् बैठकबाट आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार आज बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरिएको छ ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले देशव्यापी ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको बताए ।