भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारको निर्णय : बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि तत्काल ५० हजार सहयोग

सरकारको निर्णय : बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि तत्काल ५० हजार सहयोग

मुख्य बुँदा 

असोज ११ र १२ गतेको अविरल वर्षाबाट प्रभावित परिवारलाई तत्काल राहत सहयोग।

अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराइने।

मृत्यु, बेपत्ता र घाइतेका लागि छुट्टै राहत रकम तुरुन्त वितरण गरिने।

सडक, खानेपानी, बिजुली, सञ्चार सेवा पुनः सञ्चालन गर्न केन्द्रको सहकार्य।

महामारी फैलिन नदिन संघ र प्रदेश सरकारबीच संयुक्त पहल गर्ने निर्णय।

सुरक्षा निकायलाई अन्तर्राष्ट्रिय उद्धार मापदण्डअनुसार तालिम र पूर्वाधार उपलब्ध गराइने।

काठमाडौँ, २१ असाेज । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको छ।

उनका अनुसार घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्राधिकरणबाट तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था मिलाइएको हो। राहत वितरणको कार्य प्राधिकरणको मापदण्ड अनुसार नै हुने बताइएको छ। त्यससँगै, बाढीपहिरोमा परी मृत्यु, बेपत्ता र घाइते भएका व्यक्तिहरूलाई दिने राहत रकम पनि तत्काल निकासा गर्ने निर्णय भएको छ।

बैठकले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको निरन्तर खोज तथा उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न संघ, प्रदेश र स्थानीय निकायहरूलाई आवश्यक सहयोग गर्ने, खानेपानी, विद्युत् र सञ्चार सेवा सञ्चालनमा ल्याउन केन्द्र सरकारले सहकार्य गर्ने निर्णय भएको छ।

भट्टका अनुसार विपद्पछि महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा पहल गरी नियन्त्रणका उपाय अपनाउने निर्णय गरिएको छ। साथै, अन्तर्राष्ट्रिय खोज उद्धार मापदण्ड (इन्साराग) अनुरूप सुरक्षा निकायलाई आवश्यक तालिम र पूर्वाधार व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

 


Thali Mobile Pvt.Ltd.