मुख्य बुँदा
प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगबीच निर्वाचन तयारीबारे सिंहदरबारमा भेटवार्ता,
आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा छलफल केन्द्रित,
आयोगको प्रतिबद्धता — स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन,
स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता,
प्रधानमन्त्रीले दलहरूसँग पनि निर्वाचनका विषयमा छलफल गर्ने तयारी जनाएको।
काठमाडौँ, २१ असाेज । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूले छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा केन्द्रित रहेर छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार आयोगले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै, आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि जनाएको छ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग पनि शीघ्र छलफल गर्ने तयारी रहेको बताइन्।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो र प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।
