भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो ।

घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो । सात हजार मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो, उनी भन्छन् ।

दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्छन्, वडाध्यक्ष नारायण भोम्जन । धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजानसक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो ।

सबैतिर बेहाल छ, अध्यक्ष भोम्जनले भने, वडामा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जनजति निजी घरमा क्षति पुगेको छ ।

बागमती गाउँपालिकाको वडा नं १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरू वडामध्ये आश्रङले धेरै क्षति ब्यहोर्नुपरेको छ । अविरल वर्षासँगको बाढीले वडा नं ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिकाबाट वडा कार्यालयसम्म पुग्ने सडक ५० भन्दाबढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर तथा यहाँको झोलुङ्गे पुल खोलाले बगाएको छ ।

यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन बनेका छन् । विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नुपरेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ । यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकप्टको प्रयोग बाध्यात्मक बनेको छ ।

त्यसैले त आइतबार र सोमबार हेलिकप्टरबाट प्युटार र गोटिखेलबाट बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो । बुधबार हेलिकप्टरबाट राहत सामग्री यहाँ ल्याइएको थियो । लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का खम्बाहरू ढलेका छन् । जसका कारण पाटनबाट गाउँपालिकासम्म आउन असहज भएको छ,ु महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भने ।

बाढीपहिरोबाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । अहिले तीनपाने भञ्ज्याङसम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्यौँ, अब छपेलीसम्म सफा हुन्छ, उनले भने ।

ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३ दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी गराए । पालिकाभित्र ४० घर बगाएको र पुरिएको छ, वडा नं २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नं १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ, उनले भने।

दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढीपहिरोमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताइन् । बाढीपहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, यहाँ शुक्रबारदेखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सक्नुभएको छैन, उनले भनिन् । रासस

 


Thali Mobile Pvt.Ltd.