भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बालेन शाह : भ्रम र भिजनको साँघुरो बाटो

बालेन शाह : भ्रम र भिजनको साँघुरो बाटो

नेपालको मुटुमा एउटा नाम छ जुन अहिले चर्चाको केन्द्रमा छ, त्यो नाम हो बालेन्द्र शाह, जसलाई सबै नेपालीले बालेन शाह भनेर चिन्छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बन्नुभन्दा पहिले धेरैलाई एउटा र्‍याप गाउने कलाकारको रूपमा मात्र थाहा थियो । कतिपयलाई उनले सिभिल इन्जिनियरिङ पढेका छन् भन्ने कुरा थाहा थिएन । तर २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको हैसियतले जब उनले विजय हासिल गरे, त्यसपछि उनी नयाँ पुस्ताका लागि एउटा करिश्माई पात्र बने ।

उनले जितेको क्षणदेखि नै उनको व्यक्तित्व, पृष्ठभूमि, नियत र बाटोबारे बहसहरू सुरु भए । सुरुवाती दिनमा काठमाडौंका धेरै मतदाताहरूले उनलाई एउटा भिजनरी नेताको रूपमा देखे । लामो समयदेखि पुराना दलहरूले गरेको निराशाजनक शासन, भ्रष्टाचार, अक्षमता र ढोंगीपनबीच बालेन नयाँ विकल्प जस्तो देखिए । त्यो विकल्पमा युवा पुस्ताले आफ्नो भावनालाई पोख्न पाए र पुराना नेताहरूले नदिएको आशा उनले दिएझैँ देखियो । बालेन शाहको जित सामान्य घटना थिएन ।  नेपाल जस्तो देशमा जहाँ राजनीति प्रायः वंश, जात, दल र गठबन्धनका समीकरणमा घुम्छ, त्यहाँ बिना पार्टी चिन्ह एक जना युवा इंजिनियरले राजधानी जस्तो ठूलो सहर जित्नु चमत्कारभन्दा कम थिएन । काठमाडौंवासीले उनलाई मात्र कलाकारको रूपमा नभई आफ्नो निराशालाई व्यक्त गर्ने माध्यमको रूपमा देखे । जसरी सामाजिक सञ्जालमा उनका प्रचार सामग्री भाइरल भए, त्यो आफैंमा एउटा नयाँ घटना थियो । तर समयसँगै सतहमा देखिएको कुरा अलि फरक नै कथा बन्दै गयो ।

हामी प्रायः नेताको चम्किलो अनुहार मात्र देख्छौँ तर अनुहारको पछाडि लुकेको पृष्ठभूमि, पारिवारिक सम्बन्ध, उठबस र विचार कहाँबाट प्रभावित छ भन्ने कुरा बुझ्न भने गाह्रो हुन्छ । बालेन शाह पनि यसबाट अलग भएनन् । उनका बाबु चिकित्सक भएर दरबार वरिपरिको सेवामा आवद्ध थिए भन्ने कुरा कतिपय अध्ययनले देखाएको छ । त्यो पृष्ठभूमिले उनलाई साधारण नागरिकभन्दा फरक ठाउँमा उभ्याएको हुनसक्छ । त्यति मात्र नभई उनको आचरण, उनको बोलाइ, उनको काम गर्ने तरिका कतिपय अन्तर्राष्ट्रिय सर्कल र शक्ति केन्द्रसँग जोडिएको जस्तो देखिन्छ । सुरुमा स्वतन्त्र भनेर देखाइएका बालेन साँच्चै स्वतन्त्र हुन् कि कसैको गोटी भन्ने प्रश्न धेरैको मनमा आउन थाल्यो । त्यसैबीच अर्को महत्त्वपूर्ण घटना घट्यो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने निर्णय गर्‍यो । करको दायरा ल्याउने  र नियमन गर्ने नाममा गरिएको त्यो निर्णयले नयाँ पुस्तामा ठूलो आक्रोश सिर्जना गर्‍यो । किनभने अहिले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्रै होइन, यो जीवनशैली, व्यवसाय, शिक्षा, राजनीति र अन्तर्राष्ट्रिय सम्पर्कसम्म जोडिएको छ । त्यसरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु भनेको नयाँ पुस्ताको आवाज थुन्ने प्रयास थियो । यहीँबाट जेन जेड भनिने पुस्ता सडकमा उत्रियो । त्यो आक्रोशमा विचारभन्दा बढी भावना थियो, राजनीतिक दर्शनभन्दा बढी विद्रोहीपन थियो । कतिपय ठाउँमा सरकारी संरचना जले, नेताका घर जले । यसले पुराना नेताहरूलाई सबक त सिकायो तर आन्दोलन आफैंमा गहिरो प्रश्नको विषय बन्यो । संसद्देखि सिंहदरबार, प्रहरी परिसर, प्रभागदेखि नीजी तथा सार्वजनिक सम्पतिहरू जले । धेरैले यसलाई दुःखद भने किनभने कुनै भौतिक संरचना नष्ट हुनु राम्रो कुरा होइन । यहि बीचमा एउटा तर प्रश्न उठ्यो, सिंहदरबार कसका लागि बनेको थियो? सिंहदरबार कहिल्यै सामान्य मजदुर, किसान वा श्रमिकका लागि बनेको थिएन ।

त्यो सधैं शासकको दरबार थियो । सिंहदरबारमा नीति बने पनि गरिब बस्तीमा बस्ने मानिसको जीवनमा कुनै फरक पारेन । हजारौं बस्ती छेउमा बनेका ठूला महलहरूले सर्वहारा वर्गलाई कुनै सुविधा दिएनन् । त्यसैले सिंहदरबार जल्नु केवल इँटा-पत्थरको नोक्सानी मात्र नभई सत्ताको प्रतिक जल्नु पनि थियो । तर यसलाई राजनीतिक चेतना र दीर्घकालीन रणनीति बनाउन सक्ने स्तरमा आन्दोलन पुग्न सकेन । जेन जेड पुस्ताले देखाएको विद्रोहले अन्तर्राष्ट्रिय स्तरमै चासो पायो । सामाजिक सञ्जालमा भिडियो, तस्बिर, ह्याशट्यागहरू भाइरल भए ।

काठमाडौंका सडकमा उग्र नाराहरू गुञ्जिए । तर समस्या के भयो भने यो आन्दोलन विचारको भन्दा पनि भावना, आक्रोश र उग्रतामा बढी आधारित थियो । फ्रान्सको १७८९ को क्रान्ति, सोभियत सङ्घको १९१७ को क्रान्ति वा चीनको १९४९ को क्रान्ति हेर्दा ती आन्दोलनसँग नीति, दर्शन, विचारधारा र नेतृत्वको स्पष्टता थियो । तर नेपालमा भएको यो जेन जेडको आन्दोलन त्यस्तो गहिराइमा पुग्न सकेन । परिणामतः धेरै संरचना जले, धेरै पीडित भए तर लामो समयको राजनीतिक रुपान्तरण ल्याउन सकेन । बरु केही सीमित मान्छेहरूले त्यसको फाइदा उठाए । आन्दोलन भावनामा चलेको थियो तर केहि राजनीतिक दल तथा अन्य तत्वले प्रयोग गरेको जस्तो देखियो । त्यही क्रममा बालेन शाहको असली रूप पनि उजागर हुन थाल्यो । सुरुमा जसलाई स्वतन्त्र भनेर देखाइयो, समयसँगै उनको गतिविधि, बोलाइ, अन्तर्राष्ट्रिय निकायसँगको सम्बन्धले अर्को कथा भन्न थाल्यो ।

उनको नियत र दृष्टिकोणमा षड्यन्त्रको गन्ध आउन थाल्यो । युवापुस्ताको भावना र आक्रोशलाई कसैले आफ्नो स्वार्थका लागि प्रयोग गरेको हो कि भन्ने प्रश्नहरू उठ्न थाले । अनि त्यही प्रश्नहरूले बालेनको छविमा ठूला चिरा पारिदिए । त्यो आन्दोलनपछि बनेको अन्तरिम सरकार कामकाजी सरकारले मात्र भूमिका खेल्यो तर कुनै नयाँ काम गर्न सकेन । पुरानै संरचना, पुरानै शैलीमा राज्य चलेको देखियो । सत्तरी भन्दा बढी युवा युवतीहरूले आफ्नो जीवन गुमाए । उनीहरूको पसिना र रगतले बनेको विद्रोहको परिणाम भने शक्तिकेन्द्रका केही मानिसको स्वार्थपूर्तिमा मात्र सीमित हुने देखियो । यो जटिल संक्रमणकालीन अवस्था सामान्य छैन् । तर नेपाली समाजले फेरि देख्यो कि आन्दोलन र विद्रोह केवल भावना र आक्रोशमा मात्र निर्भर रह्यो भने दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन । बालेन शाहको कथा केवल एक व्यक्तिको कथा होइन, यो नेपालकै राजनीतिक संस्कृतिको कथा हो ।

जहाँ नेता नयाँ भएर आउँछन् तर शक्तिकेन्द्रसँग गाँसिन्छन् । जहाँ जनता आशा गरेर मतदान गर्छन् तर समयसँगै निराश हुन्छन् । बालेनले दिएको करिश्माले धेरैलाई सपनाको स्वाद चखायो तर उनको पृष्ठभूमि, नियत र आचरणले अर्को वास्तविकता पनि देखायो । जेन जेड पुस्ताको विद्रोहले पुराना संरचनामा प्रश्न त उठायो तर वैकल्पिक राजनीति बनाउन सकेन । बरु आक्रोश, उत्तेजना र उग्रताले धेरैलाई पीडा दियो । नेपाल अझै पनि द्वन्द्व, भ्रम, षड्यन्त्र, सत्ता र शक्तिको खेलमै अल्झिएको छ । यो खेलमा बालेन शाह पनि एउटा पात्र बनेर इतिहासमा अंकित हुने निश्चित जस्तै छ ।