दक्षिण एशियामा उदीयमान अर्थतन्त्रको रुपमा अघि बढीरहेको बंगलादेश पछिल्लो समय जनताको सामान्य माग पुरा गर्न नसक्दा उथलपुथलको दलदलमा भासिन पुगेको छ । जनताका सामान्य माग सम्बोधन गर्न हिचकिचाउदा सत्ता मात्रै होइन, शासकले देशै छोड्नु पर्ने रहेछ भन्ने उदाहरण पनि बनेको छ । विद्यार्थी आरक्षणको सामान्य विषयलाई सम्बोधन गर्न नसक्दा आज गम्भीर राजनीतिक संकटको चपेटामा भासिएको छ बंगलादेश ।
आइटी, औषधि, कपडा उद्योगलगायत उत्पादनमार्फत समृद्धितर्फ अघि बढिरहेको शक्तिशाली प्रधानमन्त्री भनेर परिचित शेख हसिना पदबाट राजीनामा दिएर रुदै देश छोड्नु पर्ने अवस्था किन आयो संसारका शासकहरुले बुझ्ने पर्ने बेला आएको छ । विद्यार्थीले चर्काएको आन्दोलनले उग्ररुप लिदा आइतबार देश छोडेर भारततिर भागेकी छिन् । माग सम्बोधन गर्नुको सट्टा दमन गरेपछि ज्यानको प्रवाह नगरी ढाकास्थित प्रधानमन्त्री भवन नै आन्दोलनकारीले कब्जामा लिए ।
बंगलादेशका संस्थापक नेता मुजिबुर रहमानको अर्थात हसिनाका पिताको मूर्ति समेत तोडिएको छ । समस्या समाधान तर्फभन्दा पनि संसदमा दुई तिहाई बहुमतसहितको जननिर्वाचित प्रधानमन्त्रीले देखाएको दम्भका कारण देश छाडेर भाग्नु परेको यो सामान्य घटना होइन । देश छाडेपछि अहिले बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । आइतबारको सनसनीपूर्ण घटनाक्रमसँगै बंगलादेशमा शेख हसिनाको १५ वर्षे शक्तिशाली शासन गल्र्याम गुर्लुम ढलेको छ भने चरम राजनीतिक संकटमा फसेको छ ।
गत जुलाईदेखि चर्केको विद्यार्थी आन्दोलनमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । खरबौं जनधनको क्षति भएको छ । १५ वर्षदेखि लगातार सत्ता उद्मादमा रहँदै आएकी हसिनामाथि निरंकुश शासकको आरोप विपक्षीको छ । विपक्षीमाथि चरम दमन गरेको, चुनावमा धाँधली गरेको, अभिव्यक्ति स्वातन्त्रता संकुचित गरेको र माग लिएर आवाज उठाउने जनतामाथि प्रहरी दमन गरेर राज्य आतंक मच्चाएको विभिन्न आरोप हसिनामाथि लाग्दै आएको थियो । अन्ततः यो आरोप नभइ तथ्य भएको पुष्टी भएको छ ।
जनतामा असन्तोष र विद्रोही भावना जागेपछि जस्तोसुकै शक्तिशाली शासक र सरकारले घुडा टेक्नु पर्छ नै । आज बंगला देशमा पनि जनताले सडक आन्दोलनकै बलमा सत्ता ढालेका छन् । यसको ज्वलन्त सन्देश हसिनाको भवितव्य राजनैतिक अवस्थाले दिएको छ । जनताले सडकबाटै दुईतिहाइ बहुमतको सरकार सहजै ढालेपछि अहिले संसारभर यसले हलचल पैदा गरेको छ । नेपालीहरू पनि सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा गरिरहेका छन् । जनताको भावना विपरित निरंकुश बन्ने शासकको यहि हालत हुन्छ भनेर भनिरहेका छन् ।
राजनीतिक अवसान
सन् १९७५ मा परिवारका सबै सदस्य मारिएपछि राजनीतिमा होमिएकी शेख हसिना एक शक्तिशाली शासकको राजनीतिक अवसान हुन पुगेको छ । सरकार सामान्य कारणले ढल्न पुगेको छ । विद्यार्थीले उठाएको मुद्दा थियो आरक्षण । बंगलादेश स्वतन्त्रता संग्राममा सहभागी भएका परिवारलाई मेडिकल शिक्षा लगायतमा सरकारी सुविधामा आरक्षणको व्यवस्था गरिएको थियो । स्वतन्त्रता सेनानीको परिवारका लागि ३० प्रतिशत आरक्षण व्यवस्थाले आम नागरिकमा चरम असन्तुष्टि पैदा भएको थियो ।
अदालतले आरक्षणलाई १० प्रतिशतमा झार्ने आदेश दिए पनि कोटा व्यवस्था नहटाएपछि आन्दोलनले निरन्तरता पाइरहेको थियो । स्वतन्त्रता सेनानीका परिवारलाई छुट्याएको ३० प्रतिशत आरक्षणले अवामी लिग पार्टीका कार्यकर्तालाई मात्रै फाइदा पुगेको विपक्षीको आरोप थियो । अवामी लिग त्यस्तो पुरानो पार्टी हो, जसका कार्यकर्ताले १९७० मा पाकिस्तानसँग संघर्ष गरेका थिए । त्यही संर्षका कारणले अहिले तिनैका सन्तानले आरक्षण सुविधा पाउँदै आएका थिए । आरक्षणको विरोध त एक बहाना मात्रै थियो ।
तर विद्यार्थी आन्दोलन एका एक हसिना सरकारले लिँदै आएको विपक्षी दमन नीतिका कारण सरकारविरुद्ध प्रदर्शनमा परिणत हुन पुग्यो । जसले आन्दोलन झन झन बलियो हुँदै गयो र यसमा विपक्षी पार्टीहरूले समर्थन गर्दै गए । आन्दोलन झन् चर्किँदै गयो । जुलाइदेखि चर्केको विद्यार्थी आन्दोलन र सरकारी दमनमा करिब सयबढीको ज्यान ज्यान गयो ।
अन्धाधुन्ध गोली प्रहार गर्ने हसिनाको दमनकारी नीतिका कारण आन्दोलन ज्वालामुखिमा परिणत भयो । यसलाई नजिकबाट नियालीरहेको सेनाले आन्दोलन दन्किएको हेरिरर्यो । अन्तिम घडीसम्म आउँदा राष्ट्रिय सेनाले आन्दोलनकारीलाई दबाउन भन्दा प्रधानमन्त्री हसिनालाई असहयोग गर्नु उचित ठान्यो । सुरक्षा फौजको असहयोग र हिंसात्मक आन्दोलनले प्रधानमन्त्री निवास नै घेरेपछि लगत्तै हसिना हेलिकोप्टर चढेर छिमेकी भारततर्फ भागिन् ।
आन्दोलन एकातिर उनी भागेर अहिले भारतको सरणमा छिन् । उत्तरप्रदेशस्थित गाजियाबादमा बसिरहेकी उनी त्यहाँबाट बेलायतको लण्डन जाने चर्चा चलिरहेको छ । यस घटनाले संसद्मा जतिसुकै बलियो अंकगणित भए पनि जनताको हितमा काम नगर्दा शासकहरु सडकबाटै गलहत्तिने रहेछन् । जनताको आक्रोषमा सरकार ढल्दो रहेछ भन्ने उदाहरण बंगलादेशको यस घटनाले प्रष्टयाइ दिएको छ ।
संसदमा एक्लैको २७१ सिट भएर के गर्नु ?
बंगलादेशमा ३५० सदस्यीय संसद छ । शेख हसिना सभापति रहेको अवामी लिग पार्टीको एक्लै २७१ सिट छ । यो दुईतिहाइभन्दा झण्डै २७ सिट बढी हो । विपक्षी पार्टीसँग ७९ सिटमात्रै छ । ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचित हुन्छ भने ५० सिट समानुपातिक तथा आरक्षणबाट चुनिने वैधानिक व्यवस्था छ ।
चुनावमा धाँदली गरेको आरोप विपक्षी पार्टीहरूले लगाउँदै बहिस्कार गरेका कारण हसिनाको दलसँग एक्लै २७१ सिट छ भने विपक्षीसँग स्वतन्त्र ६२ जनासहित ७९ सिट मात्रै छ । यहाँ २१ सिटमा साना दलको प्रतिनिधित्व छ । एक सिट रिक्त रहेको छ ।
दुईतिहाइको के हिसाब–किताब ?
जनताले सडकबाटै हसिना सत्ताच्युत भएपछि अब उनको दलसँग रहेको दुईतिहाइको कुनै हिसाब–किताब बाँकी रहेन । बंगलादेशको सत्ता अहिले त्यहाँको सेना हत्याएको छ । अन्तरिम सरकार बनाउने घोषणा सेनापतिले गरेका छन् । दलहरूसँग सेनाले छलफल थालिसकेको छ । एशियाको टाइगर मानिँदै आएको हसिना सरकार अब सेनाको चंगुलबाट गुज्रीदै छ । अब बंगलादेशको आर्थिक समृद्धि र शान्तिको यात्रा कसरी अगाडि बढ्छ ? यसमा प्रश्नचिन्ह खडा भएको छ ।
जातीय अतिवादी खतरा सुरु हुन्छ कि ? लोकतन्त्रमाथि सैन्यकरण कति खतरा ? भन्ने चिन्ता बढेको छ । जननिर्वाचित सरकार ढालेपछि विपक्षी दलहरूले सरकारको नेतृत्व सम्हाल्न सकेनन् । जसका कारण बंगलादेशको सत्तामा सेना हाबी भएको छ । यसबाट लोकतन्त्र थप खतरामा पर्ने विश्लेषण जानकारले गरिरहेका छन् । अवामी लिगलाई धर्मनिरपेक्षतावादी दलका रुपमा अथ्र्याएका विपक्षीले अब हसिनाको बहिर्गमनसँगै दक्षिणपन्थी शक्ति सतहमा आउने हो कि भनेर आशंका गरिरहेका छन् ।
हसिनाका पिता मुजिबर रहमानको शालिक तोडियो
के हो त पिताको बिरासत ?
शेख मुजिबर रहमान (शेख मुजिब) शेख हसिनाका बुवा हुन । उनले सन् १९७० मा पाकिस्तानबाट बंगलादेशलाई अलग गर्ने संघर्षमा ठूलो भूमिका खेलेका थिए । उनी दक्षिण एशियाशै शक्तिशाली नेतामा गनिन्थ्ये । अवामी लिग पार्टीबाट निर्वाचित उनी प्रथम राष्ट्रपति (सन् १९७१–१९७२) बने । सन् १९७२ देखि संसदीय प्रणाली लागू भएपछि मुजिब प्रधानमन्त्रीसमेत बने ।
मुजिब अन्तरिम राष्ट्रपति बनेकै बेला उनकै पहलमा १९७२ मार्च १७ मा भारतीय सेनाले बंगलादेश छाड्न बाध्य भयो । डिसेम्बर १६ मा नयाँ संविधान जारी भएपछि पहिलो संसदीय चुनाव १९७३ मा सम्पन्न भयो । उक्त निर्वाचनमा मुजिबको पार्टीले बहुमत पाएर सरकार बनायो । इस्लामिक एकेडेमी ब्युँताएको आरोपहरू मुजिबमाथि लाग्न थाल्यो । स्वतन्त्रता संग्रामलाई दबाउन ढाकामा सन् १९७१ मार्च २५ को मध्यरातमा पाकिस्तानी सेनाले नरसंहार मच्चायो ।
मुजिबुरलाई पक्राउ गरी पश्चिम पाकिस्तान लग्यो र उनलाई सैन्य अदालतबाट मृत्युदण्डको सजायँ सुनाइयो । तर त्यो सजाय कार्यान्वयन हुन सकेन । त्यसबेला भारतले बंगलादेशलाई साथ दियो । भारतको समर्थन पाएपछि अन्ततः पाकिस्तानले आत्मसमर्पण ग¥यो । शेख मुजिब कारागार मुक्त भई घर फर्किए र बङ्गलादेशको प्रथम राष्ट्रपति बने ।
सन् १९७२ देखि बंगलादेशमा शासकीय प्रणाली परिवर्तन गर्दै राष्ट्रपतीय प्रणालीको साटो संसदीय प्रणालीमा जाने संवैधानिक व्यवस्था मिलाए । नयाँ व्यवस्थापछि उनी राष्ट्रपतिको साटो प्रधानमन्त्री बने । बंगाली राष्ट्रवाद, प्रजातन्त्र, समाजवाद र धर्मनिरपेक्षताको पक्षधर हसिनाका पिता रहमानको यो विचारलाई कतिपयले ‘मुजिबवाद’ भन्ने गरेका थिए ।
धर्मनिरपेक्ष संविधान निर्माणको तयारी
आफु शक्तिमा आएपछि हसिनाका बुवा मुजिबले धर्मनिरपेक्षतासहितको संविधान निर्माणको तयारी थाले । तर, उनी चरम गरिबी र भ्रष्टाचारको चपेटामा परेका कारण यसबाट उम्कन सकेनन् र एकदलीय राजनीतिको घोषणा गरे ।
यस्तो घोषणा ७ महिना बित्दै नपाउदै सन् १९७५ अगष्ट १५ का दिन बंगलादेशको सैन्य समूहले प्रधानमन्त्री रहमानसहित उनको बंश नै विनास गरिदियो । विदेशमा रहेकाले मात्रै शेख हसिना बच्न सफल भइन् । बुवाको हत्यापछि हसिनालाई देश फर्कन प्रतिबन्ध लाग्यो । देशमा केही वर्षसम्म अस्थिरता, द्वन्द्व र सैन्य हस्तक्षेप बढ्यो ।
चुनाव जितेर प्रधानमन्त्री बनेकी हसिना
सन् १९९६ मा चुनाव जितेर प्रधानमन्त्री बनेकी हसिना विवादमा पर्दै गइन् । भ्रष्टाचार मुद्दामा जेलसमेत बसिन् । केही समय अमेरिका बसिन् । २००६ मा स्वदेश फर्केको दुई वर्षपछि चार पार्टीको गठबन्धन बनाएर फेरी चुनाव जितिन् । लगातार सत्तामा रहिरहिन् । अजामी लिगको सभापति हसिना सन् १९८४ देखि नै सभापति थिइन् ।
हसिना विश्वकै सर्वश्रेष्ठ शक्तिशाली महिला
पटक पटक प्रधानमन्त्री बनेकी शेख हसिना विश्वकै सर्वश्रेष्ठ शक्तिशाली महिलाको सूचीमा थिइन् । विश्वका १०० जना शक्तिशाली महिलाको सूचीमा परेकी उनी शीर्ष २६ औं स्थानमा थिइन् । सन् २०१६ मा फोर्ब्स पत्रिकाले फेरी सन् २०१७ मा सार्वजनिक गरेको सूचीमा उनी ३० औँ स्थानमा झरिन् । अमेरिकाको एक पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विचारकहरूको सूचीमा समेत हसिनालाई सामेल गरेको थियो ।
विश्व महिला नेत्री परिषदकी सदस्य हसिनाले यस अन्तर्राष्ट्रिय सञ्जाललाई बलियो बनाउदै लगेकी थिइन् । बङ्गलादेशका प्रथम राष्ट्रपतिकी छोरी हसिनाले पढाइमा राम्रो अवसर नपाउने कुरै भएन । शुरुमा उनले पूर्वी पाकिस्तानको टुङ्गिपाडाकै विद्यालयबाट प्रारम्भिक शिक्षा लिएकी थिइन् । सन् १९५४ देखि परिवारका साथ ढाकामा बसोबास गर्न थालिन् । पछि पिता रहमान स–परिवार मिन्टोेको एक सरकारी निवासमा सरे ।
त्यसपछि हसिना थप शिक्षाका लागि नारी शिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना भइन् । हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर पुरा गरिन् । उनको विवाह वाजेद मियाँसँग भयो । हसिना र वाजेदका तर्फबाट सजीव वाजेद जोय र सायमा वाजेल पुतुल दुई सन्तान जन्मिए । सन् २००९ मा वाजेदको मृत्यु भयो ।
दुई दशक सत्ता अनुभव र परिवारको बंशनाश
बङ्गलादेशमा लामो समय सत्ता चलाउने प्रधानमन्त्री हुन् शेख हसिना । १० औँ प्रधानमन्त्री बनेकी उनले सन् २००९ जनवरीबाट सत्ता सम्हालेकी हुन् । बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेकी हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको हो । त्यो ठाउँ तत्कालीन पाकिस्तानमा थियो । पहिलोपटक प्रधानमन्त्री बन्दा ४७ वर्षकी हसिना देश छोड्दा ६७ वर्षकी छिन् ।
बंगलादेशमा सन् १९७५ अगस्त १५ मा सैनिक विद्रोहमा उनका पितासहित परिवारका सबै सदस्यको हत्या भएपछि शोकमा डुबेकी हसिनाकोे अमेरिकी गुप्तचर संस्था सीआइएले समेत बेला बेला तर्साएको थियो । सीआइएको हात रहेको भनिएको उक्त हत्या काण्ड अहिलेसम्म रहस्यमै लुकेको छ । बंशनाश हुँदा हसिना र बहिनी शेख रेहाना जर्मनीमा पढिरहेकी थिइन् ।
विदेशमा नभएको भए सायद दिदी–बहिनी दुईजना पनि खरानीमा परिणत हुने थिइन् । विदेशमा पढेर फर्केपछि हसिना राजनीतिमा होमिन थालिन् । कुशल राजनीतिज्ञ ठानिएकी हसिना पटक–पटक गरेर २० वर्ष प्रधानमन्त्री बनिन् । गत जुलाईदेखि बंगलादेशमा चर्केको आन्दोलन २०८१ साउन २० गते आइतबार उत्कर्षमा पुग्दा हसिनाको झण्डै ज्यान जोगियो ।
झण्डै १९७५ को सैनिक विद्रोहका बेला जस्तै भएको त्यो घटना हो । आन्दोलनकारीले प्रधानमन्त्री भवन प्रवेश गरेर तोडफोड गर्न थालिसकेका थिए । आन्दोलन मत्थर पार्न हसिनाले सेना परिचालन गर्न खोजिन तर सेनाले साथ दिएर । आदेशको अस्वीकार गरेपछि अवस्थाको आँकलन गरिन् र हसिनाले आफ्नो सुरक्षाका लागि देशै छाड्नुपर्यो । आफ्नी बहिनी शेख रेहानालाई साथमै लिएर हेलिकोप्टर चढेर भारत तर्फ भागिन् र बच्न सफल भइन् ।
चार दशक लामो राजनीतिक जीवन समाप्ती उन्मुख
करिब चार दशक लामो हसिनाको राजनीतिक जीवन अव ओरालो लागेको छ । जर्मनीमा पढेर स्वदेश फर्केपछि सन् १९८६ देखि १९९० सम्म संसदमा प्रतिपक्षी दलको नेता बनिन् । सन् १९९१ देखि १९९५ सम्म पुनः प्रतिपक्ष दलकै नेताका रूपमा संसदमा प्रतिनिधित्व गरिन् । सन् १९८१ देखि अवामी लिगको सभापति बनिन् । सन् १९९६ देखि सन् २००१ सम्म हसिनाले पहिलोचोटि बङ्गलादेशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिन् । सन् २००८ मा बहुमत ल्याएर उनी दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भइन् ।
सन् २०१४ जनवरीमा एक विरोधी दलविहीन निर्वाचन जितेर उनी तेस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भइन् । उक्त चुनाव विपक्षी दलले बहिस्कार गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि उक्त चुनावमा धाँधली भएको ठहर गर्दै आलोचना गरे । सन् २०१८ मा भएको चुनावमा हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भइन् । विपक्षी दलले धाँधली भएको आरोप लगायो । २४ जनवरी २०२४ मा सम्पन्न पछिल्लो चुनावपछि हसिना फेरि दुई तिहाई बहुमतका साथ सत्तामा पुगिन् ।
त्यो शासनकालमा हसिनाले आर्थिक विकासका लागि प्रशंसनीय कामहरु गरिन् । १७ करोड जनसंख्या रहेको बंगलादेशलाई हसिनाले भारतसँग पनि कतिपय मामिलामा टक्कर गर्न सक्ने बनाएकी थिइन् । प्रधानमन्त्रीका रूपमा उदायपछि उनको कार्यकाल विवादरहित हुन पुग्यो । देशमा धेरै किसिमका भ्रष्टाचार र घोटालाहरू भए । पदमा सेतु काण्ड, हलमार्क सनाली बैंक काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वंस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासनकालका मुख्य काण्ड हुन् ।
हसिनामाथि अधिनायकवादी आरोप लाग्यो । कार्यकालमा सरकारी दमनका घटना प्रशस्त भए । त्यसैको एकमुष्ट प्रतिफल सडक आन्दोलन भयो । यो आन्दोलनले उग्र रुप लियो र दुईतिहाई बहुमतवाला सत्ता अन्ततः सडकबाटै पल्टियो । बंगलादेशको सत्तापलटले भारत ससंकित बनेको छ । यसबाट पर्न सक्ने असरका बारेमा दिल्लीमा विश्लेषण भइरहेको छ । बंगलादेशसँगको सीमा क्षेत्रमा अहिले भारतीय सेनाको तैनाथी बढेको छ । बंगलादेशको घटनाले नेपालमा पनि तरंग ल्याएको छ ।
०३६ सालमा पाकिस्तानको राजनीतिक घटनाले काठमाडौंमा विद्यार्थी आन्दोलन चर्केजस्तै बंगलादेशबाट उत्साहित भएर सडकमा सरकारविरुद्ध प्रदर्शनको खतरा काठमाडौं पनि देखा पर्ला भनेर चर्चा हुन थालेको छ । जननिर्वाचित सरकार सडक आन्दोलनबाट फालिनु लोकतन्त्रका लागि खतराको घण्टी हो । लोकतन्त्र सेनाको हातमा गएपछि जनता सत्तामा आउने सम्भावना कम देखिएको छ । परिष्थिति जटिल बन्दै गएको छ । बंगलादेशको राजनैतिक बाटो अब कस्तो बन्छ त्यो भने हेर्न बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा...
काठमाण्डौ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मंगलबार ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित...
काठमाडौं । नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएसंगै नेपाली काँग्रेसले १९ स्थानमा विजय हासिल गरेको...
भक्तपुर । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार भेट गरेका छन् । भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटमा सम्पदा पुनःनिर्माण, स्वास्थ्य तथा पर्यटन...