काठमाडौँ-ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ-ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ, २३ जेठ  । आज काठमाडौँ र ललितपुरका झन्डै ९८ स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

स्युचाटार र टेकु सबस्टेशनअन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रमार्फत आपूर्ति हुने क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। कुलेश्वर वितरण केन्द्रका ५३ स्थान, कीर्तिपुरका ११, रत्नपार्कका २० र पुल्चोकका १४ स्थान प्रभावित हुनेछन्।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातीर्थको कामका लागि स्युचाटार सबस्टेशनको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो।

प्राधिकरणका अनुसार काम सम्पन्न गर्न सुरक्षित रूपमा लाइन बन्द गर्नुपर्ने भएकाले निर्धारित समयसम्म विद्युत् आपूर्ति रोकिनेछ।

साथै, सटडाउन अवधिमा काठमाडौँ उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको जनाइएको छ। प्राधिकरणले उपभोक्तालाई आवश्यक तयारी गर्न र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.