भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

१५ लाख ७० हजार स्मार्ट लाइसेन्स छापियो, १ वर्षभन्दा कम म्यादका अब नछापिने

१५ लाख ७० हजार स्मार्ट लाइसेन्स छापियो, १ वर्षभन्दा कम म्यादका अब नछापिने

मुख्य बुँदा

हालसम्म १५ लाख ७० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स छापिसकियो।

१ वर्षभन्दा कम म्याद बाँकी लाइसेन्स अब नछापिने निर्णय।

सुरक्षण मुद्रण केन्द्रले दैनिक ४० हजार कार्ड छाप्दै आएको।

असार मसान्तभित्र २९ लाख लाइसेन्स ब्याकलग शून्य बनाउने लक्ष्य।

नयाँ लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको।

काठमाण्डौ, २२ जेठ । लामो समयदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीका लागि राहत हुनेगरी हालसम्म १५ लाख ७० हजार लाइसेन्स छापिएको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागको समन्वयमा छपाइ कार्य तीव्र पारिएको हो।

सुरक्षण मुद्रण केन्द्रका अनुसार विभागसँगको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १७ लाख कार्ड छाप्ने जिम्मेवारी रहेकोमा अधिकांश काम पूरा भइसकेको छ। केन्द्रले अहिले दैनिक करिब ४० हजार कार्ड छापिरहेको छ।

यसैबीच, नवीकरणको म्याद ६ महिना वा १ वर्षभन्दा कम बाँकी रहेका लाइसेन्स अब तत्काल नछापिने भएको छ। सम्बन्धित सेवाग्राहीले पुनः नवीकरण गरेपछि मात्र नयाँ कार्ड छापिने व्यवस्था गरिएको छ।

अधिकारीहरूका अनुसार १ वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ देखि ४ लाख लाइसेन्स छन्। यो निर्णयले राज्यको ठूलो लागत बचत हुनुका साथै सेवाग्राहीलाई पनि अनावश्यक झन्झटबाट जोगाउने अपेक्षा गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रका अनुसार असार मसान्तभित्र ४ वर्षयता ट्रायल पास भएका करिब २९ लाख लाइसेन्सको ब्याकलग शून्य बनाउने लक्ष्य राखिएको छ। नयाँ व्यवस्थाअनुसार अब जारी हुने वा नवीकरण हुने लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था लागू भइसकेको छ।

यातायात व्यवस्था विभागका अनुसार ट्रायल पासपछि राजस्व तिरेको २४ घण्टाभित्र प्रणालीले छपाइ प्रक्रिया सुरु गर्ने व्यवस्था पनि सुधार गरिएको छ। वैदेशिक रोजगारी वा अध्ययनका लागि तत्काल कार्ड चाहिने सेवाग्राहीका लागि विशेष व्यवस्था गर्ने तयारी पनि भइरहेको छ।

सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ अब नियमित रूपमा आफ्नै उच्च क्षमताका मेसिनबाट हुने स्पष्ट गरेको छ। आगजनीका कारण यातायात व्यवस्था विभागको पुरानो मेसिन क्षतिग्रस्त भएपछि छपाइको जिम्मा केन्द्रमा सारिएको हो।

प्रदेश स्तरमा खरिद गरिएका लाइसेन्स छपाइ मेसिन कानुनी जटिलताका कारण प्रयोगमा आउन नसकेको पनि अधिकारीहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.