ढाका, १ फागुन। बंगलादेशको १३औँ संसदीय निर्वाचनको मतगणना जारी रहँदा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट अग्रता लिएको छ। पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानको नेतृत्वमा रहेको बीएनपी बहुमत नजिक पुगेको अनौपचारिक विवरणहरूमा उल्लेख गरिएको छ।
औपचारिक नतिजा भने आजै बेलुकासम्म सार्वजनिक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ। बंगलादेशको निर्वाचन आयोगका अनुसार देशभर झन्डै ६१ प्रतिशत मतदान भएको छ। यो निर्वाचन सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक भएको हो, जसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो। उहाँको दल अवामी लिग प्रतिबन्धित भएपछि यसपटकको चुनाव बीएनपी र जमात–ए–इस्लामीबीच प्रतिस्पर्धात्मक बनेको हो।
अनौपचारिक मतगणनाअनुसार ३०० सदस्यीय संसदमा बीएनपी बहुमत नजिक पुगेको देखिए पनि प्राप्त सिट संख्याको औपचारिक घोषणा हुन बाँकी छ। पार्टी नेतृत्वले जितप्रति आशावादी रहेको जनाउँदै समर्थकहरूलाई उत्सव र्याली नगर्न र संयमित रहन आग्रह गरेको छ। तारिक रहमानले शान्तिपूर्ण वातावरण कायम राख्न विशेष प्रार्थना गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ।
जमात–ए–इस्लामीका शीर्ष नेताले पनि कुनै ठूलो हस्तक्षेप नभए निर्वाचन परिणाम स्वीकार गर्ने बताएका छन्। निर्वाचनसँगै ‘जुलाई बडापत्र २०२५’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ। प्रारम्भिक मतगणनाअनुसार झन्डै ७२ प्रतिशत मतदाता संवैधानिक सुधार प्रस्तावको पक्षमा देखिएका छन्।
उक्त बडापत्रमा प्रधानमन्त्रीका लागि कार्यकाल सीमा, राष्ट्रपतिको अधिकार विस्तार र निर्वाचन प्रणाली सुधारका विषय समावेश छन्। यस निर्वाचनलाई बंगलादेशमा लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्ने महत्त्वपूर्ण क्षणका रूपमा लिइएको छ। औपचारिक नतिजा सार्वजनिक भएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच, मतदानका क्रममा विभिन्न स्थानमा झडपका घटना पनि भएका छन्। खुलनाको एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामी कार्यकर्तासँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ। यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्र बाहिर भएको झडपमा तीन जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

