भर्खरै : Sorry, your browser does not support inline SVG.

नीति तथा कार्यक्रम तर्जुमा : भक्तपुर नपाको भेला, युवाबाट उत्साहजनक सुझाव

नीति तथा कार्यक्रम तर्जुमा : भक्तपुर नपाको भेला, युवाबाट उत्साहजनक सुझाव

भक्तपुर, २८ जेठ । नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया अघि बढाउँदै भक्तपुर नगरपालिकाले आज एक विशेष भेला आयोजना गर्‍यो। नगरका प्राध्यापक, युवा र विद्यार्थीहरूलाई सहभागी गराउँदै नगरपालिकाले विचार, आवाज र आशाहरू संकलन गर्‍यो।

नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र नीति तथा कार्यक्रम पारित गरी बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रक्रिया उल्लेख गर्दै, यस चरणमा नगरवासीको सहभागिता सुनिश्चित गर्नु नगरपालिकाको प्राथमिकता भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले हामीले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेका छौं। देशको विकासका लागि उनीहरूलाई सक्षम बनाउने हाम्रो कर्तव्य हो।”

कार्यक्रममा उपप्रमुख रजनी जोशीले रचनात्मक सुझावका लागि सहभागी सबैलाई धन्यवाद दिइन्। प्रशासकीय अधिकृत दामोदर सुवालले बहुआयामिक माध्यमबाट सुझाव संकलन भइरहेको जानकारी गराउँदै, जनसहभागितामा आधारित बजेट निर्माण भक्तपुर नपाको विशेषता भएको बताउनुभयो।

युवाको आवाज, योजनामा प्रतिबिम्ब 

भेलामा सहभागी प्राध्यापक, युवा र विद्यार्थी प्रतिनिधिहरुले नगरको भौतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक विकासका लागि गहकिला सुझावहरू राखे। उल्लेखनीय सुझावहरू यसप्रकार छन्: राममन्दिरको ट्राफिक जाम समाधान गर्न जनसेवा स्कुलतर्फ झोलुंगे पुल निर्माण। ईभी सवारी साधन सञ्चालन गर्दै नगरभित्र इन्धनयुक्त सवारी निषेधतर्फ अग्रसर हुने, सामुदायिक भवनहरूलाई अध्ययन अनुसन्धान केन्द्र का रूपमा प्रयोग, शिक्षक सेवा आयोगबाट उत्तीर्ण शिक्षकको छनोटमा पारदर्शिता र आकर्षणका कार्यक्रम ल्याउने, सामाजिक अनुसन्धान ल्याब स्थापना।

अनुदान शिक्षकको व्यवस्था, ख्वप विश्वविद्यालय स्थापनाका लागि निरन्तर पहल, दरबार क्षेत्रको लापां देगः पुनर्जीवन, प्लास्टिकजन्य वस्तु निषेध, दाफाभजन संरक्षण, सूचना प्रविधिमैत्री शिक्षण, शिक्षक सरुवा निर्देशिका निर्माण, स्वीमिङ पुल निर्माण, किसान सम्मान कार्यक्रम, खौमा उमामहेश्वर मन्दिर पुनर्निर्माण, सम्पदामैत्री बत्ती जडान, वडामा पुस्तकालय र शिशुस्याहार केन्द्र, मेलम्चीको पानी चुहावट नियन्त्रण, अपराध नियन्त्रण, नगरकोट सडक सुधार, कक्षा ९ र १० मा ऐच्छिक विषयमा कानुन विषय समावेश।

भक्तपुर नपाको नीति निर्माण प्रक्रिया अब स्थानीय बौद्धिक समुदाय, युवाशक्ति र भविष्यका कर्णधारहरूका आवाजसँगै अझ लोकउत्तरदायी र सहभागी बन्दै गएको छ।

 


Thali Mobile Pvt.Ltd.