भक्तपुर । भक्तपुरको चाँगुनारायणमा दलित महिला लक्षित दलित समुदायहरुलाई क्षमता विकास र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित पाँच दिने तालिममा चाँगुनारायणका सबै वडाका दलित महिलाहरुको सहभागिता रहेको थियो । पिछडीएका दलित महिलाहरुको क्षमता वृद्धि विकासका लागि यो कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास शाखा प्रमुख मिना घिमिरेले जानकारी दिइन् ।
सबैले सामान्य भाषामा बुझ्ने गरेको तर सबैको दृष्टिमा नपर्ने भएकाले दलित महिला तथा पिछडीएको वर्गका लागि यो तालिम ल्याइएको उनको भनाइ छ । ‘सामुदायिक रुपमा पछाडी पर्ने र महिलाहरु आफै पनि अगाडी आउन नखोजेको अवस्था छ । शैक्षिक चेतना भए पनि शैक्षिक सहभागिताको कमी देखिएका कारण यस्तो क्षमता अभिवृद्धिका कार्यक्रमले महिलाहरुमा नेतृत्व विकास हुने देखिन्छ । ’ उनले भनिन्, ‘चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा, सचेतना,मनोपरामर्शका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । नगरका दलित समुदायलाई उकास्न यस्ता विभिन्न कार्यक्रमले थप सहयोग गर्ने पनि अपेक्षा लिएका छौ । ’
तालिममा राज्यका विभिन्न निकायहरुमा दलित महिलाहरुको उपस्थिति कस्तो छ र कुन कुन सुविधाहरु उपलब्ध छ भन्नेबारे जानकारी दिइएको प्रशिक्षक लिक प्रसाद चन्दले बताए । सहभागी महिलाहरुले नेतृत्व विकास र भाषण कलाका साथै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका कुरा पनि सिकेको उनको भनाइ छ । ‘दलित समुदायका महिलाहरु र अरु विभिन्न हिंसामा परेका महिलाहरुले राज्यबाट के के सुविधा पाउछन् भन्नेबारे हामीले जानकारी दिएका छौ । साथै तनाव व्यवस्थापन कसरी गर्ने र स्थानीय तहका कुन कुन ठाउँमा सम्पर्क गर्ने जस्ता कुराको हामीले यो पाँच दिनमा छलफल गरेका छौ । ’
यो तालिमबाट संविधानमा महिलाहरुको हक अधिकारको कस्तो व्यवस्था छ र त्यसलाई कसरी उपयोग गर्ने भन्नेबारे थप जानकारी हासिल गरेको प्रशिक्षार्थी मन्दिरा बयलकोटीले बताइन् । उनका अनुसार त्यस तालिमबाट नेतृत्व विकास कसरी गर्ने र मानसिक रुपमा कसरी सबल बन्ने भन्नेबारे ज्ञान प्राप्त भएको छ । त्यसैले यो तालिम उपयोगी भएको र आगामी दिनमा पनि नगरपालिकाले यस्ता विभिन्न तालिम ल्याउन उनले सुझाव दिएकी छन् ।
तालिममा चाँगुनारायणका विभिन्न वडाका दलित महिलाहरुको सहभागिता रहेको थियो । दलित समुदायहरुलाई क्षमता विकास र नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिम नगरपालिकको सभाहल हेल्मे डाँडामा भएको थियो ।
