भक्तपुर नगरपालिकामा नियमित खोप सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चिततासम्बन्धी कार्यक्रम सम्पन्न ।
नगर प्रमुख सुनिल प्रजापतिद्वारा सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न सुझाव ।
बालबालिकालाई समयमै खोप लगाउन जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीलाई आग्रह ।
आर्थिक वर्ष २०८२/८३ को खोपसम्बन्धी सूक्ष्म योजना र वडागत सेवाको अवस्थाबारे प्रस्तुतीकरण ।
खोप सेवाको प्रभावकारिता, तथ्याङ्क अद्यावधिक र सरसफाइ प्रवर्द्धनमा जोड ।
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिकाले नियमित खोप सेवालाई सुदृढ बनाउने, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने र सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले सूक्ष्म योजना अद्यावधिकसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुर नगरपालिका खोप समन्वय समितिका संयोजक एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाको स्वास्थ्य सुरक्षा, खोप सेवाको प्रभावकारिता, तथ्याङ्क अद्यावधिक र सरसफाइ प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बालबालिकाको स्वास्थ्य र जीवन रक्षाका लागि खोपको महत्त्वपूर्ण भूमिका रहेको बताए । समयमै खोप नलगाउँदा बालबालिकाले विभिन्न स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उनले खोपसम्बन्धी जनचेतना अभिवृद्धिमा स्वास्थ्यकर्मीहरूले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले भक्तपुर नगरपालिकाका सातवटै खोप केन्द्रको सेवा, खोपको अवस्था र सम्बन्धित तथ्याङ्क समेटिएको पुस्तिका प्रकाशन गर्न सुझाव दिए । खोपसम्बन्धी तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गरी सर्वसाधारणले सहजै बुझ्ने गरी जानकारी गराउन सके खोप सेवाको अवस्था पहिचान गर्न र आगामी योजना निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
नगर प्रमुख प्रजापतिले खोपले विभिन्न सङ्क्रामक रोगको जोखिम घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी सही र विश्वसनीय जानकारी जनसमुदायसम्म पुर्याउनुपर्ने बताए । स्वास्थ्यकर्मीले गुणस्तरीय सेवा प्रदान गर्न सके तथ्याङ्कमा समेत सुधार आउने उनको भनाइ थियो ।
उनले नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउन सरसफाइको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य समितिका संयोजक डा. रत्नसुन्दर लासिवाले नगरपालिकामा सञ्चालन भइरहेको खोप सेवाबारे जानकारी गराए ।
उनले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न सङ्क्रामक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को खोपसम्बन्धी सूक्ष्म योजना तथा नगरपालिकाका सबै वडामा सञ्चालन भइरहेका खोप सेवाको अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो ।
साथै, नियमित खोप सेवालाई थप प्रभावकारी बनाउने, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने, खोपसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने र सरसफाइ प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको नगरपालिकाले जनाएको छ ।
