भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ ।
शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै यसअघि जिल्लाका चार वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित भइसकेको जानकारी दिनुभयाे ।
मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउन घरघरमा स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने बताउँदै भन्नुभयो, “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोग निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौं।
यसका लागि स्वयंसेवकहरुलाई पारिश्रमिक र एक हजार रुपैयाँ सञ्चार खर्चको व्यवस्था गरिएको छ।” उहाँले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४ सै घण्टा सेवा संचालन गर्ने गरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको जानकारी गराउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति वृद्धि र उपकरण वितरणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाइएको बताउनुभयो।
स्वास्थ्य मन्त्री थापाले आगामी दिनमा भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, वन मन्त्रालय, कृषि मन्त्रालय लगायतका मन्त्रालयहरूसँग समन्वय गरेर स्वास्थ्यलाई जोड दिने योजना रहेको समेत जानकारी दिनुभयो। साथै प्रदेश सरकारले एमडी र एमबिबिएसको पढाइ पनि सुरु गरेको जानकारी गराउनुभयो। उनले अधूरा रहेका स्वास्थ्य चौकीका भवनहरु पूर्णता दिन बजेट व्यवस्थापन गरिएको पनि उल्लेख गर्नुभयो।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउनु चुनौतीपूर्ण रहेको बताउँदै भन्नुभयो, “कोही पनि खोपबाट छुट्न नहुने हाम्रो प्राथमिकता हो। खोप प्रभावकारी भएकाले बालमृत्युदर हरेक वर्ष घट्दै गएको छ। नियमित खोप कार्यक्रमले बालमृत्यु दर ८० प्रतिशतले घटाएको छ।”
कार्यक्रममा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा. अभियान गौतम लगायतले खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले घरघर पुगेर खोप सुनिश्चित गराई भक्तपुर जिल्लामा कोही पनि बालबालिका खोपबाट वञ्चित नभएको बताउनुभयाे । उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाएर कोही पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी दिगोपना दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
भक्तपुरका चारवटै नगरपालिकाका प्रतिनिधि र खोप सुनिश्चित घोषणामा सहयोग गर्ने विभिन्न निकायलाई सम्मान गरिएको थियो। स्वास्थ्य मन्त्री थापाले महिला स्वयंसेविकाहरुलाई समेत सम्मान गर्नुभएकाे थियाे । जिल्ला खोप समन्वय समितिका संयोजक एवं प्रमुख ईश्वर थापाले खोप सुनिश्चिततालाई दिगो बनाउने जिम्मेवारी सबै सरोकारवालाहरूको भएको उल्लेख गर्दै सबै निकायले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
यो घोषणाले भक्तपुर जिल्लामा खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने र नसर्ने रोग नियन्त्रणमा ठूलो प्रगति हासिल गर्ने लक्ष्यमा महत्वपूर्ण पाइला सावित हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।
