भक्तपुरमा भव्य योमारी प्रतियोगिता सम्पन्न : मौलिकता र संस्कृति जोगाउने नगरपालिकाको कदम

भक्तपुरमा भव्य योमारी प्रतियोगिता सम्पन्न : मौलिकता र संस्कृति जोगाउने नगरपालिकाको कदम

मुख्य बुँदा 

भक्तपुर नगरपालिकाले दत्तात्रयमा योमारी प्रतियोगिता तथा प्रदर्शनी आयोजना

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा पानस प्रज्वलन गरी उद्घाटन

मौलिकता संरक्षण तथा पर्यटन प्रवर्द्धनमा कार्यक्रमको महत्वपूर्ण भूमिका

विद्यालयहरूमा स्थानीय पाठ्यक्रममार्फत सम्पदा अध्ययन

६८ वटा स्टल—स्थानीय उत्पादन, परिकार र सांस्कृतिक प्रस्तुती

ठूलो सहभागिता सहितको सांस्कृतिक र्‍याली

विभिन्न स्थलमा खाना महोत्सव, प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले
भक्तपुरको मौलिकता संरक्षणले यहाँको पहिचान जोगाइ राख्न टेवा पुग्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले उक्त कुरा बताउनुभएको हो । उहाँले नगरपालिकाद्वारा आयोजित सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने तर्क गर्नुभयो ।

भक्तपुरको मौलिकता संरक्षणले यहाँको पहिचान जोगाइ राख्न टेवा पुग्ने बताउँदै नगरपालिकाले आगामी दिनहरूमा यी र यस्ता गतिविधिहरुलाई निरन्तरता दिँदै जाने विश्वास व्यक्त गर्नुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक र बाह्य पर्यटन प्रवर्धनको लागि नगरपालिकाले योमरी उत्सवलाई प्रतियोगिताको रुपमा सञ्चालन गरी सबैलाई मौलिकता प्रदर्शन गर्ने अवसरको रुपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदाहरूको महत्त्व नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम मार्फत अध्ययन अध्यापन गराइरहेको बताउनुभयो।

नेमकिपा बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईंले नगरपालिकाद्वारा आयोजित योमरी उत्सवले भक्तपुरको सम्पन्नतालाई उजागर गरेको बताउँदै योमरी सम्पन्नता, सभ्यता, प्रेम, संस्कृति, हर्ष उल्लास र विज्ञानको प्रतीक भएको बताउनुभयो।

देशको राजनीतिक, सांस्कृतिक, ऐतिहासिक धरोहरहरू जलिरहँदा पुर्खाप्रति नै अपमान भएको बताउँदै उहाँले नयाँ पुस्ता परिवर्तन, सिर्जना र सम्पन्नताको बाटोमा हिँड्नुपर्छ, ध्वंशको बाटोमा होइन भन्नुभयो।

कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले उत्सवको महत्वमाथि प्रकाश पार्दै योमारी महोत्सव सफल पार्न सहभागी सबैमा धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पुराना कला संस्कृति र सभ्यता नयाँ पुस्ताको पहिचान हो भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो।

कार्यक्रमको उद्घाटनअघि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं १ इनागबाट सुरु भएको सांस्कृतिक र्याली दत्तात्रयमा पुगी सम्पन्न भयो ।

उद्घाटन र्‍यालीमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नम्बर १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।

प्रतियोगिताको उद्घाटन पश्चात् नगरप्रमुख सुनिल प्रजापति सहितको टोलीले सलाँ गणेश, क्वाठण्डौं, जेँलामा खाना महोत्सव तथा स्थानीय उत्पादन प्रदर्शनी र सूर्यमढीमा सांस्कृतिक कार्यक्रम स्थलगत अवलोकन गर्नुभएको थियो।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको योमरी प्रतियोगिता तथा प्रदर्शनीमा ६८ वटा योमरी प्रदर्शनीका स्टलहरू रहेका थिए। उद्घाटन र्‍याली विभिन्न सांस्कृतिक बाजा समूह, विद्यालय, सहकारी संस्था, नगरपालिकाका कर्मचारीहरू, स्थानीय जनता लगायतको उल्लेख्य सहभागितामा नगर परिक्रमा गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.