मुख्य बुँदा
मकवानपुरको भीमफेदी कारागारमा हाल १,०२३ जना कैदीबन्दी रहेका छन्।
तीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका ३८० जना र जबरजस्ती करणी मुद्दाका २९६ जना।
कर्तव्य ज्यान मुद्दाका १४९ जना कैदीसहित यी तीन अपराधमा मात्रै ८२५ जना (८०%) कैदी।
कुल कैदीमध्ये ९९० पुरुष र ३३ महिला, जसमा ७० जना विदेशी नागरिक।
हेटौँडाबाट मात्रै १८९ जना कैदी, जसले सहरी क्षेत्रमा अपराध दर उच्च देखाउँछ।
ग्रामीण क्षेत्रका कैदीमा लागुऔषध ओसारपसारमा संलग्नहरूको संख्या उल्लेख्य।
हेटौँडा, कार्तिक १८ । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणी मुद्दाका कैदीबन्दीको संख्या अत्यधिक रहेको पाइएको छ। नेपालका प्रमुख कारागारहरूमध्ये गनिने भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन्।
कारागार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी र कर्तव्य ज्यानका घटनाका कैदीको संख्या सर्वाधिक रहेको छ।
तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन्। त्यसपछि जबरजस्ती करणी मुद्दाका २९६ जना र कर्तव्य ज्यान मुद्दाका १४९ जना रहेका छन्। यी तीन अपराधमा मात्र ८२५ जना कैदी रहेका छन्, जुन कुल संख्याको झन्डै ८० प्रतिशत हो।
अन्य अपराधहरूमा चोरीमा ४४ जना, डाँकामा २८ जना, मानव बेचबिखनमा १५ जना र ज्यान मार्ने उद्योगमा १२ जना छन्। हातहतियार, संगठित अपराध र बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि कैदीहरू रहेका छन्।
भीमफेदी कारागारमा ९९० पुरुष र ३३ महिला कैदी छन्। तीमध्ये ७० जना विदेशी नागरिक रहेका छन्, जसले प्रायः लागुऔषध, चोरी र जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका छन्।
जिल्लागत विवरणअनुसार ४६५ जना मकवानपुरकै विभिन्न स्थानीय तहका हुन्। सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाबाट १८९ जना (कुलको ४१%) रहेका छन्। त्यसपछि राक्सिराङ गाउँपालिकाबाट ५० जना, मनहरीबाट ४६ जना र कैलाश गाउँपालिकाबाट ४२ जना कैदी रहेका छन्।
कारागार प्रशासनका अनुसार ग्रामीण क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्नता बढ्दै गएको देखिन्छ, जसले सामाजिक र आर्थिक कारणसहितका गम्भीर विमर्शको आवश्यकता औंल्याउँछ।
