भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

भोजपुर, २७ मंसिर । सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने उक्त स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण र आवश्यक संरचना निर्माण कार्य निरन्तर भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

वडा कार्यालय र प्रदेश सरकारको संयुक्त लगानीमा कूल १६ लाख रुपैयाँको लागतमा काफ्ले डाँडामा दुईतर्फबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय तथा वनभोज स्थल निर्माण गरिएको छ। यसमध्ये वडाबाट ६ लाख र प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन गरिएको हो । “हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ,” वडाध्यक्ष तामाङले भने, “यो स्थान प्राकृतिक रूपमा सुन्दर हुनुका साथै सदरमुकाम नजिकै भएकाले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना छ। उपलब्ध स्रोतसाधनअनुसार आवश्यक संरचना तयार गरेका छौँ ।”

यस वर्ष थप पूर्वाधार निर्माणका लागि वडाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना गर्ने र सुरक्षित पैदलमार्गका लागि थप बारा निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तामाङले बताए । बजेट अभावका कारण केही योजना भने अझै अधुरो रहेको उनले स्वीकारे ।काफ्ले डाँडाबाट भोजपुर बजार, वरपरका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्म फैलिएका हिमश्रृङ्खलाको दृश्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा घुमफिर तथा फोटो खिच्न आउनेको संख्या बढ्दो छ । विशेष गरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको उल्लेख्य चहलपहल देखिने गरेको स्थानीयले बताएका छन् ।

पर्यटन व्यवसायीहरूले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार गर्न सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.