ललितपुर, २७ मंसिर । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत ललितपुरमा स्वदेशी बजार २०२५ आयोजना गरिएको छ । उद्योग विभागको सहयोग तथा समन्वयमा आयोजित उक्त एकदिने प्रदर्शनी आज ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा सम्पन्न भएको हो ।
“नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान” भन्ने अवधारणाका साथ आयोजना गरिएको प्रदर्शनीको मुख्य उद्देश्य गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकलाई बजार पहुँचमा सहयोग गर्नु रहेको सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए । साना, मझौला तथा घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदर्शनीमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि प्रवेश पनि निःशुल्क गरिएको छ। आयोजकका अनुसार प्रदर्शनीमा तीन हजारभन्दा बढी दर्शकको सहभागिता हुने अनुमान गरिएको छ ।
प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित वस्तु, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थलगायत विभिन्न क्षेत्रमा आबद्ध करिब ४० देखि ५० उद्योग तथा उद्यम सहभागी छन् । स्वदेशी बजार २०२५ मार्फत सहभागी उद्योगहरूले आफ्ना उत्पादन तथा सेवा सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गर्ने, साथै सम्भावित खरिदकर्ता, वितरक, व्यावसायिक साझेदार र सरोकारवालासँग नेटवर्क विस्तार गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
अध्यक्ष पाण्डेले यस प्रकारका कार्यक्रमले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
