भोजपुर । भोजपुरका किसान यस समयमा मुख्य रूपमा कोदो भण्डारण र तयारीमा व्यस्त छन् । धानको भण्डारणको काम सकिएलगत्तै गाउँ–गाउँमा कोदो टिप्ने, थन्क्याउने र कुट्ने चहलपहल बढेको छ ।
भोजपुर नगरपालिका क्षेत्रका भँगेरी, बोखिम, दुम्सी, दावा लगायत जिल्लाका सबै स्थानीय तहमा कोदो खेती हुँदै आएको छ । व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने परम्परा पालन गर्दै आएका छन् । हाल स्थानीय बजारमा कोदोको मूल्य प्रतिकेजी ५०–६० रुपैयाँ रहेको छ । किसान धनबहादुर थापाका अनुसार, “गाउँघरमा अहिले कोदो थन्काउने काममा धेरै व्यस्तता छ । वर्षातले केही कोदो लडेका कारण टिपाइ अलि चुनौतीपूर्ण भएको छ ।” उनी भन्छन्, “व्यवसायिक रूपमा नभए पनि घरायसी आवश्यकता पूरा गर्न कोदो खेती अझै लोकप्रिय छ ।”
कोदोबाट विभिन्न परिकार- रोटी, ढिँडो, केक र पेय पदार्थ – बनाइने भएकाले यसको माग स्थिर रहँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष भोजपुरमा करिब ५,२७० हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो र यस वर्ष पनि करिब त्यही क्षेत्रफलमा खेती भएको केन्द्रले जानकारी दिएको छ । किसानहरूले भने कोदाको मूल्य स्थिर नहुँदा बेचबिखनमा चुनौती आउँछ र श्रम धेरै लाग्ने भएकाले भविष्यमा कोदो खेतीमा आकर्षण घट्ने चिन्ता व्यक्त गरेका छन् ।