भोटेकोशी बाढीअघि लाङटाङ लिरुङको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको अध्ययनको निष्कर्ष ।
४८ दिनको भूउपग्रह राडार तथ्याङ्क विश्लेषणबाट विस्थापन पत्ता लागेको ।
अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेको अध्ययनमा उल्लेख ।
विपद् हिमताल विस्फोट नभई चट्टान र बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध घटना भएको निष्कर्ष ।
चट्टान र बरफ खसेको करिब सात मिनेटमै बाढी सीमावर्ती क्षेत्रमा पुगेको अध्ययनले देखाएको ।
काठमाण्डौ, २८ असोज । गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) ले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भू–उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो ।
ईसीमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो ।
अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, पानी र गेग्रानसहितको तीव्र बहाव सिर्जना गर्दै नेपाल–चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो ।
अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढी ९ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ० नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेको छ । अध्ययनमा भूउपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञानसम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपद्को कारण, प्रभाव र पूर्वसूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ ।
भूउपग्रहबाट पहाडको सतहमा भएको विस्थापन पत्ता लागे पनि त्यसका आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ रु भन्ने पूर्वानुमान गर्न नसकिने अध्ययनले जनाएको छ । यद्यपि, यस्ता प्रविधिबाट जोखिमयुक्त पहाडी भिर पहिचान गरी थप निगरानी गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।
अध्ययनअनुसार लाङटाङ लिरुङमा चट्टान र बरफ खस्ने घटना नेपाली समयअनुसार भदौ १० बिहान ८ बजेर ३७ मिनेटमा भएको थियो । त्यसबाट उत्पन्न गेग्रानसहितको बाढी झण्डै सात मिनेटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो ।
