काठमाडौँ । जङ्गलमा आश्रित चितवन माडीका बोटे समुदाय अहिले होमस्टेमा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।
माडी नपा १ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ पाहुनालाई स्वागत गर्दछन् । होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ । माडी नगरपालिका बोटेले हिजोआज कामका लागि खोलानाला र वनजङ्गल जानु नपरेको बताउछन् ।
पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उनीहलेरू अब दुःखका दिन क्रमशः हट्दै गएको बताए । बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताए ।
माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ । घरबास बनाउन माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रमले आर्थिक सहयोग गरेका छन् ।
रू १० लाखभन्दा बढी खर्च गरेर सुविधा सम्पन्न दुईकोठे होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन् । एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिए । हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन् ।
जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाँच हुन् । घरबास खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायणको भनाइ छ ।
पाहुनालाई होमस्टेबाट पाँच सय मिटर पर रहेको गोद्दकनाथ मन्दिर, एक किलोमिटर पर रहेको पाँच पाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, चार किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराउने गरिएको उनले बताए । घरबासको अझै प्रचार प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक अझै बढ्ने जगनारायणको भनाइ छ ।
जीविकोपार्जन र आयआर्जनलाई व्यवस्थित बनाउन घरबासले महत्त्वपूर्ण भूमिका खेलेको समुदायको भनाइ छ । घर बासमार्फत आयआर्जन सिर्जना गर्नका लागि निरन्तर सहयोग गरिने सरोकारवालाले बताएका छन् ।

