भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका अनुसार हालै रु आठ करोड ७४ लाखको सुन्तला जिल्लाबाट बिक्री गरिएको छ । उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो ।

जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी परियोजनाअन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । परियोजना लागू भएका क्षेत्रमा अहिले अभियानकै रुपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो । प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।

प्राविधिकको टोलीले यही माघको १५ गतेसम्म यो अभियान जारी राख्ने छन् । गैँडाकोट, धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउराली, बबोक, राइकोटलगायत १६ स्थानमा सुन्तला जात फलफूलको बगैँचा व्यवस्थापन कार्य गरिने उनले जानकारी दिए । अहिलेसम्म ११ स्थानमा बगैँचा व्यवस्थापनको काम सम्पन्न भएको उनले बताए । प्राविधिकसहितको टोलीले समूहमार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् । यसपछि किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् ।

“बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ”, कार्यालय प्रमुख सिंहले भने । प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने एकाइ प्रमुख सिंहले जानकारी दिए । उनले भने, “यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।”

फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने सिंहको भनाइ छ । कार्यालयले यस वर्ष राम्रोसँग बगैँचाको व्यवस्थापन गर्ने किसानलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।

सुन्तलाको उत्पादनसँगै किसानको आम्दानी बढाउने लक्ष्यअनुसार बगैँचा व्यवस्थापनको अभियान सञ्चालन गरिएको उनले बताए । नवलपुरमा राम्रो सुन्तला उत्पादन गर्न सकिने क्षेत्र भएकाले क्षेत्र विस्तार र भएका बोटबाट धेरै उत्पादन लिन सकियोस् भनेर कार्यालयले किसान लक्षित भएर काम गरिरहेको जनाइएको छ । जिल्लामा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ । किसान गेसबहादुर रानाले सुन्तलाको थप उत्पादन लिन बगैँचा व्यवस्थापनले सहयोग पुग्ने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.