काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेपिछ अहिले सम्बन्ध चिस्सिएको छ । क्यानडाले पनि भारतका उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता पठाइदिएको छ ।दिल्लीबाट निष्कासित क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् ।
१९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न उनीहरुलाई निर्देशन दिएको छ । सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बद्दै गएको छ ।क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ ।
क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो । क्यानडा सरकारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धानमा नसघाएको बताए ।
क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिक हरदीप सिंह निज्जरको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएको छ ।
हरदीप सिंह निज्जर को हुन् ?
सन् १९७७ मा पञ्जाबको जालन्धरमा जन्मिएका निज्जर सन् १९९७ मा क्यानाडा गएका थिए । त्यसताका उतैको नागरिक बनेका थिए । उनी पृथकतावादी शिखहरुको संस्था बाबर खाल्सा इन्टरनेशनलमा आवद्ध थिए । सन् २०२३ को जुन महिनामा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए ।
उनको हत्या आरोपमा क्यानडा प्रहरीले २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंहलाई पक्रेको थियो । तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लागेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक चिसो बढेको थियो ।खालिस्तानसँग जोडिएका निज्जरको क्यानाडामा हत्या भएपछि भारतले क्यानाडालाई भिसा दिन रोक लगाएको छ । क्यानाडाले झन् खतरा कदम चालेको छ । दुई मुलुकले एकअर्काका कूटनीतिज्ञ पनि निकाला गरेका छन् ।
