भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ७ मा ज्येष्ठ नागरिकहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा १ सय ६१ जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको साझेदारीमा बागेश्वरी स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य जाँच गराएसंगै औषधि वितरण गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सक, ख्वप तिलगंगा आँखा अस्पतालका आँखा जाँच गर्ने टोली र नगर अस्पतालका चिकित्सक टोलीद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियाे । १४३ जना ज्येष्ठ नागरिकहरुको मधुमेह जाँच गरिएकाे छ भने ७ जना मोतियाविन्दुका बिरामीलाई शल्यक्रिया गरिने जनाइएकाे छ ।
ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य संस्थाहरुसंग समन्वय र सहकार्य नगरपालिकाले गर्ने जनाएको छ । नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई टोलटोलमा पुर्याउन लागिपरेको नगर प्रमुख जीवन खत्रीले बताए । ताथली, सुडाल, बागेश्वरी र नगरकोटबासीलाई नगर अस्पताल पुग्न असहज र अपायक परिरहेको प्रति सचेत रहेको र चाडै ब्यवस्थापनमा पहल गरिने प्रमुख खत्रीको भनाइ छ ।
नगर अस्पतालबाट प्रवाह हुने अन्य सेवाहरु ब्यवस्थित गर्दै लगेको र सेवा विस्तार भएकाले नगर अस्पतालमा गएर सेवा लिन नगरबासीलाई आग्रह गरे । नगर प्रमुख खत्रीले शिविर सञ्चालनमा नगर अस्पताल, भक्तपुर अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल लगायत स्वास्थ्य संस्थाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए । चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा भक्तपुरसंग सहकार्य गरी नगरबासी विरामीलाई निःशुल्क रगत तथा नगर अस्पतालबाट निःशुल्क अक्सिजनको व्यवस्थापन गरेको जानकारी दिँदै ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य र सक्रिय बनाउने कार्यमा सदैव प्राथमिकता दिई कार्य गर्दै आइरहेको छ ।
नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको नगरपालिकाले जनाएको छ । नगर अस्पतालमा थप सेवा विस्तारका लागि पहल भइरहेको अस्पतालका मे.सु डा. अर्जुन काकीले बताए ।
शिविरको रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डे, वडा अध्यक्ष श्याम कृष्ण नयाँजु, सदस्य श्यामकाजी नयाँजु, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, नगर अस्पतालका मे.सु डा. अर्जुन कार्की, बागेश्वरी रेडक्रसका सभापति केशव अधिकारी, रेडक्रस केन्द्रका संयोजक राजु राउतलगायतले अवलोकन गरेका थिए भने महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य केन्द्रका कर्मचारी र स्वयंसेवकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।