भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा मुहानपोखरी बृहत सरसफाइ तथा सचेतना अभियान सम्पन्न भएको छ । नगरकोटको रानीझुलामा चाँगुनारायण नगरपालिका ६ र ७ को संयुक्त आयाेिजनामा सम्पन्न भएको कार्यक्रममा दुवै वडाका वडाध्यक्ष, टोल सुधार समिति, नेपाल प्रहरी , नगर प्रहरी , जनप्रतिनिधि ,स्थानीय र अन्य संस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । मुहानपोखरीको संरक्षण र स्थानीयलाई सफा पानी वितरण गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भक्तपुर र चाँगुनारायण नगरपालिकाका बासिन्दाले पिउने गरेका पानीको मुहानमा रानीझुला घुम्न आएका पर्यटकहरुले नुहाउने र दुषित गर्ने पाइएकाले यो अभियान सञ्चालन गरिएको चाँगुनारायण नगरपालिका ६ का वडाध्यक्ष धनबहादुर लामाले बताए । ‘यहाँ घुम्न आउने पर्यटकलाई सही सूचना दिन नसकेको र हामीले पनि व्यवस्थापन गर्ने नसकेको कारण पर्यटकहरु मुहानमा नुहाउन जाने, फोहोर गर्ने प्रवुत्ति निकै बढेको छ ।
जसले गर्दा यहाँको पानी पिउने बासिन्दाहरुलाई निकै समस्या भइरहेको जनगुनासो छ । त्यसैले यसलाई समय मै न्युनिकरण र व्यवस्थापन गर्नका लागि हामीले यो अभियान चलाएका हौ ।’ उनले भने, ‘आज हामीले नुहाउदै गरेका थुप्रै युवायुवतीहरुलाई सचेतना दिएर ननुहाउन अनुरोध गरेका छौ । यसलाई छिटै व्यवस्थापन गर्नका लागि कार्यदल पनि गठन गरेका छौ । ’
चाँगुनारायण नगरपालिका ७ का वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठका अनुसार यस क्षेत्रका व्यवस्थापनका लागि पदमार्ग क्षेत्रमा तारेबार लगाउन नगर प्रमुखको ध्यानाकर्षण गराइएको छ । खानेपानीको मुहान संरक्षण गर्नका लागि नगरपालिकासँग उचित छलफल गरी पहल गरिरहेको पनि उनले जानकारी दिए ।
‘यहाँको फोहोरलाई व्यवस्थापन गर्नका लागि मुहानमा जान नदिने निर्णय गरेका छौ त्यसका लागि मुहान वरपर तारेबार लगाउने र आएका पर्यटकहरुलाई पनि सचेत गराउने पक्षमा हामी लागिरहेका छौ । पानीको मुहान संरक्षण गर्न उद्धेश्यले यो अभियान सञ्चालन गरिएको हो र यसलाई हामी निरन्तरता दिने पक्षमा छौ । ’
त्यहाँ घुम्न आउने पर्यटकहरुले खानेपानीको मुहानमा फोहोर गरेका कारण स्थानीय बासिन्दालाई समस्या भइरहेको वडा नं ७ इच्छाटोलकी स्थानीयले बताइन् । पर्यटकहरुले त्यहाँ लगेका फोहोर,प्लास्टिकको आफै व्यवस्थापन गर्न उनले सुझाव दिएकी छन् ।
भक्तपुर र चाँगुनारायण नगरपालिकाका स्थानीयले पिउदैँ आएका पानीको मुहान मुहानपोखरीमा फोहोर गर्ने प्रवृत्ति बढेकोे स्थानीयको जनगुनासो रहेको छ । विगत केही वर्षअघि बनेको चाँगुनारायण नगरपालिका ६ र ७ जोड्ने रानीझुलाको निर्माणपछि झन् पर्यटकको चाप बढेको छ । पानीको मुहानमा नुहाउने, फोहोर फाल्ने गरेकाले ६ र ७ वडाको संयुक्त प्रयासमा उक्त सरसफाइ अभियान चलाइएको हो ।
