चीनमा २२ किलोमिटर लामो विश्वकै सबैभन्दा लामो एक्सप्रेस–वे सुरुङ
उरुम्छी–कोर्ला यात्रासमय ७ घण्टाबाट ३.५ घण्टामा झर्यो
तियानशान पर्वतमा अत्यन्त कठिन भूगोल
‘तीन सुरुङ प्लस चार शाफ्ट’ रणनीति प्रयोग
माइनस ४२ डिग्रीसम्मको तापक्रममा निर्माण
मध्य एसिया जोड्ने रणनीतिक पूर्वाधार
बेइजिङ, १४ पुष । चीनले आफ्नो महत्त्वाकांक्षी पूर्वाधार विकास योजनाअन्तर्गत उरुम्छी–युली एक्सप्रेस–वेको मुटुमा रहेको १३.७५ माइल (२२ किलोमिटर) लामो तियानशान शेङ्ली सुरुङ सञ्चालनमा ल्याएको छ । यसलाई विश्वकै सबैभन्दा लामो एक्सप्रेस–वे सुरुङ मानिएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार यस सुरुङले सिनजियाङ क्षेत्रको राजधानी उरुम्छी र कोर्ला सहरबिचको यात्रासमय करिब आधा घटाउँदै सात घण्टाबाट ३.५ घण्टामा झारेको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार पाँच वर्षको अवधिमा उच्चस्तरीय प्रविधि प्रयोग गरी निर्माण गरिएको यो सुरुङ चीनका ठूला पूर्वाधार उपलब्धिहरूको सूचीमा थपिएको नयाँ उदाहरण हो ।
यसअघि थ्री गर्जेज बाँधको २२.५ गिगावाट क्षमताको जलविद्युत् केन्द्रदेखि पिंगलु नहरसम्मका परियोजनाहरूले चीनको पूर्वाधार क्षमतालाई विश्वसामु देखाइसकेका छन् ।
यो सुरुङ सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा पर्ने तियानशान पर्वतमालामा निर्माण गरिएको हो । सिनजियाङ क्षेत्र कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र पाकिस्तानसहित आठ देशसँग सीमा जोडिएको क्षेत्र भएकाले यसले चीन र मध्य एसियाबीचको आवागमन र आर्थिक सम्बन्धलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
एक्सप्रेस–वे सञ्चालनमा आएपछि उरुम्छी र कोर्लाबिचको यात्रासमय मात्र घटेको छैन, यसले चीनका विभिन्न आर्थिक करिडोरहरूसँग क्षेत्रलाई जोड्दै राष्ट्रिय ‘दोहोरो परिसंचरण’ रणनीतिलाई पनि बल पुर्याएको जनाइएको छ ।
सुरुङ निर्माणको काम अप्रिल २०२० मा सुरु भएको थियो । तियानशान पर्वतमा करिब ९ हजार ८ सय ४२ फिट उचाइमा फैलिएको यस क्षेत्रमा तापक्रम माइनस ४२ डिग्री सेल्सियससम्म झर्ने भएकाले इन्जिनियरहरूले गम्भीर चुनौतीको सामना गर्नुपरेको थियो ।
सिनजियाङ यातायात लगानी तथा विकास विभागका प्रमुख इन्जिनियरका अनुसार परम्परागत विधि अपनाएको भए यस्तो एक्सप्रेस–वे सुरुङ निर्माण गर्न कम्तीमा एक दशक लाग्ने थियो ।
यस चुनौतीको समाधानका लागि इन्जिनियरहरूले ‘तीन सुरुङ प्लस चार शाफ्ट’ रणनीति अपनाए । यसअन्तर्गत एक मुख्य सुरुङ र दुई समानान्तर सुरुङ खनिए । समानान्तर सुरुङहरूले भू–वैज्ञानिक अध्ययन, सामग्री ढुवानी र उपकरण व्यवस्थापनमा सहजता ल्याए । आपत्कालीन अवस्थाका लागि तेस्रो सुरुङलाई भेन्टिलेसन र उद्धार मार्गका रूपमा प्रयोग गरिएको छ ।
साथै सतहबाट करिब २ हजार ३ सय फिट गहिराइसम्म चार ठाडो शाफ्ट खनिएका थिए । ती शाफ्टहरूले अतिरिक्त प्रवेश–निकास मार्गको काम गर्दै निर्माण कार्यलाई एकैपटक धेरै दिशाबाट अघि बढाउन सहयोग पुर्याए ।
यससँगै यो परियोजनाले राजमार्ग सुरुङका लागि विश्वकै सबैभन्दा गहिरो ठाडो शाफ्टको कीर्तिमान पनि कायम गरेको दाबी गरिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार यस सुरुङले उत्तरतर्फ ऊर्जा तथा औद्योगिक सामग्री र दक्षिणतर्फ कृषि उत्पादनको प्रवाहलाई थप सहज बनाउनेछ ।

