काठमाडौं । जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि धेरै असर भोग्नुपरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताएका हुन ।
प्रचण्डले भने, ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्, यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’
हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए । जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको प्रचण्डले बताए ।
