भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

दाङको पहिचान बन्दै बधिया भाले, व्यावसायिक पालनबाट किसानको आम्दानी

दाङको पहिचान बन्दै बधिया भाले, व्यावसायिक पालनबाट किसानको आम्दानी

घोराही, १३ माघ २०८२ (दाङ) । दाङमा बधिया भाले पालन किसानको आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पछिल्लो समय बजारमा उच्च माग र राम्रो मूल्य पाइने भएपछि बधिया भाले दाङको पहिचानकै रूपमा स्थापित हुँदै गएको हो ।

घोराही उपमहानगरपालिका–१३ बडहराकी जानकी चौधरीको मुख्य पेसा नै बधिया भाले पालन हो । उनको दैनिकी भालेको स्याहार, हेरचाह र व्यवस्थापनमै बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनले बताइन् । स्थानीय कुखुराको भालेलाई अपरेसन गरेर अण्डकोष निकालिएपछि बधिया भाले बनाइने उनी बताउँछिन् । यो सीप सिकेपछि आफैंले बधिया भाले बनाउने काम सुरु गरेको उनको भनाइ छ । बधिया भालेको मासु स्वादिलो हुने भएकाले यसको माग निरन्तर बढिरहेको छ ।

दङ्गाली पोल्ट्री फार्म दर्ता गरेर व्यवसाय गर्दै आएकी जानकीलाई श्रीमानको पनि साथ छ । बधिया भाले पालनबाट नियमित आम्दानी हुने भएकाले लामो समयदेखि यसै व्यवसायलाई निरन्तरता दिइरहेको उनले बताइन् । सबै प्रक्रिया आफैं जान्दा काम झन् सहज भएको र बिक्रीमा कुनै समस्या नरहेको उनको अनुभव छ । यसैगरी व्यावसायिक रूपमा बधिया भाले पालन गर्दै आएका अर्का किसान हुन् किसान चौधरी । उनले विगत आठ वर्षदेखि यो व्यवसाय गर्दै आएका छन् । हाल उनको फार्ममा ६० भन्दा बढी भाले छन् । एउटा बधिया भालेको मूल्य तीन हजार रुपैयाँभन्दा बढी पर्ने उनी बताउँछन् ।

सामान्यतया बधिया भाले दुईदेखि साढे दुई किलो तौलको हुने गर्छ । यस व्यवसायबाट उनले वार्षिक चारदेखि छ लाख रुपैयाँसम्म कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुने बताए । साना भाले किनेर चार महिनापछि बधिया बनाएर बिक्री गर्ने उनको अभ्यास छ । खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सजिलो हुने किसान चौधरी बताउँछन् । कम लगानी र सजिलो व्यवस्थापनका कारण यो व्यवसाय आकर्षक बन्दै गएको छ ।

चाडपर्वको समयमा बधिया भालेको माग झनै बढ्ने गरेको र उत्पादन काठमाडौँ, पोखरा लगायतका सहरसम्म पुग्ने गरेको उनले जानकारी दिए । जानकी र किसान मात्र होइन, दाङ जिल्लाका अधिकांश किसान बधिया भाले पालनमा सक्रिय हुँदै गएका छन् । बजारमा माग उच्च र मूल्य राम्रो पाइने भएकाले पछिल्ला वर्षहरूमा बधिया भाले दाङको प्रमुख पहिचान बन्दै गएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.