भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी, २३ कार्तिक । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति कार्य सुरु भएको छ।

गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त साझेदारीमा यो सडकलाई अक्सफाल्ट प्रविधिबाट कालोपत्रे र ढलान गर्ने योजना सुरु गरिएको हो। पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिम क्षेत्रमा पहिलो चरणमा सडक फराकिलो पार्ने काम सुरु गरेको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) का अनुसार, यो सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा लिइएको छ। सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाख रुपैयाँको स्रोत सुनिश्चित भएको भए पनि प्रतिस्पर्धी प्रक्रियामा ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको हो।

यो आयोजनाको ठेक्का अवधि २७ महिनाको छ। जुग्जालीले गण्डकी प्रदेशमा पूर्वभौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गरेको समयमा २०८० माघमा यो सडकलाई संघीय समपूरक योजनामा समावेश गरिएको बताए। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार, परियोजनामा संघीय र प्रदेश सरकारको लागत ५०–५० प्रतिशत साझेदारीमा छ।

आर्थिक वर्ष २०८१/८२ मा २४ करोड र चालु आर्थिक वर्ष २०८२/८३ मा २३ करोड २२ लाख बजेट विनियोजन गरिएको छ। यो सडकअन्तर्गत दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) खण्डमा कालोपत्रे र ढलान कार्य हुनेछ। साथै, धारापानी–ताकम–झिनडाँडा (४ किमी) सडक कालोपत्रे र ग्राभेलका लागि १४ करोड ६१ लाख ६१ हजारको ठेक्का सम्झौता गत वर्ष भएको थियो, जसको ६० प्रतिशत काम पूरा भइसकेको छ।

यसअघि बेनी–मङ्गला–दरवाङ जोड्ने २४ किमी सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। यो सडकले म्याग्दी, बागलुङ, र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवागमनमा ७० किलोमिटर छोटो दूरी दिलाउनेछ।

धवलागिरि गाउँपालिका–३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्र रोकाका अनुसार, यो सडकले स्थानीय आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउनेछ। २०७१ सालमा मुना पुगेको सडक अहिले स्तरोन्नति कार्य सुरू भएपछि स्थानीयवासीमा उत्साह र आशा जागेको छ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार, मुना–खोरीया–मरेनी–जलजला खण्डको मार्ग गत वर्ष खुलिसकेको छ र अहिले मर्मत कार्य अघि बढाइएको छ। बेनीदेखि मुना हुँदै जलजला–ढोरपाटन जोडिने सडकले स्थानीय र पर्यटक दुबैलाई यात्रा सहज र छोटो बनाउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.