काठमाडौँ । देशमा आर्थिक संकट परिरहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण शयर गरिरहेका छन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुदै शआएको छ ।
यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय सर्व साधारणमा चर्चाको विषय बनेको छ ।
चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड लागेका छन् ।
चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे, नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् ।
गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
संसद नै बन्द गरेर गरिएको भ्रमण सभामुख आइसकेपछि अब चैत्र १८ गते बस्ने भएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी अर्थतन्त्र धारासायी भएको, सांसद नेताहरुले संसदमै बोलिरहेने तर अवसर पाउना साथ संसद बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकोले अहिले राजनीतिक वितिष्णा समेत बढेको छ ।
त्यस्तै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जादै छन् । सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो भनेर प्रश्न गरेका छन् ।

