पर्यटन अवस्था: मनसुनको समयमा केही कमी भए पनि डाइमण्ड हिल रिसोर्टमा पर्यटकको आगमन निरन्तर
सवारी तथा पहुँच: अरनिको राजमार्गबाट सजिलै पुगिन्छ; रिसोर्ट अगाडि ठूलो पार्किङ सुविधा
पर्यटक गाइड: रिसोर्टमा पैदल यात्रा गर्नुपर्ने ठाउँ भएकाले गाइड सेवा उपलब्ध
धार्मिक स्थल: रिसोर्ट नजिकै ऐतिहासिक र धार्मिक महत्वको जन्तीढुङ्गा छ, जुन पौराणिक कथासँग जोडिएको
प्राकृतिक सौन्दर्य: हरियाली, हिमाल र गाउँले जीवनशैलीको अवलोकन गर्न सकिने
साँस्कृतिक र धार्मिक कार्यक्रम: नजिकै आदित्य मोक्षधाममा नियमित धार्मिक कार्यक्रम सञ्चालन
काभ्रे, २३ साउन । प्राकृतिक सुन्दरताको अद्भुत मेल हुने काभ्रेको डाइमण्ड हिल रिसोर्टले मनसुनको प्रभावका बाबजुद पनि निरन्तर पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। रिसोर्ट सञ्चालक राजन थापाले बताए अनुसार, मनसुन सिजनमा जेठ र असार महिनामा व्यवसाय राम्रो भए पनि साउन महिनामा केही सुस्ती देखिएको छ। “साउनमा बजेट कम हुने र केही समयसम्म अवरुद्ध भएका बाटोका कारण पर्यटकहरूको आवतजावतमा सामान्य कमी देखिएको छ,” उनले भने।

डाइमण्ड हिल रिसोर्ट काठमाडौंबाट पुग्न सजिलो छ। मुख्य अरनिको राजमार्ग हुँदै १ किलोमिटर सम्म पक्की सडक छ र त्यसपछि पुरानो ढुङ्गा छ्यापेको बाटो हुँदै रिसोर्टसम्म पुग्न सकिन्छ। रिसोर्टमा ठूलो पार्किङ सुविधा रहेकोले सवारी साधन सजिलै पार्क गर्न सकिन्छ।
पर्यटकहरूलाई रिसोर्टमा आउँदा केही पैदल यात्रा गर्नुपर्ने भएकाले रिसोर्टले गाइडको व्यवस्थापन गरेको छ। “हामीले हरेक आगन्तुकलाई सानो हाइकिङ्गको तयारीका साथ आउन सल्लाह दिन्छौँ,” राजन थापाले बताए।
डाइमण्ड हिल रिसोर्ट नजिकै रहेको जन्तीढुङ्गा धार्मिक स्थल करिब डेढ किलोमिटर टाढा रहेको छ। जन्तीढुङ्गा क्षेत्र ऐतिहासिक र पौराणिक दृष्टिले विशेष महत्व बोकेको स्थल हो। स्थानीय जनविश्वास अनुसार यहाँको एउटा कथा अनुसार राजकुमारीको विवाहमा राति आउने जन्ती र डोली पत्थरमा परिणत भएको विश्वास गरिन्छ। यहाँको पुराना ढुङ्गा र आकृतिहरू त्यसैको प्रमाण हुन्। यस स्थलमा एउटा मन्दिर पनि रहेको छ जहाँ भक्तजनहरू नियमित रूपमा पूजा अर्चना गर्न आउँछन्।

डाइमण्ड हिल रिसोर्ट वरिपरि प्रकृति र संस्कृति समेटिएको छ। यहाँको हरियाली, चराचुरुङ्गीको मधुर आवाज, जंगलका मृगहरूको नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै, गाउँले जीवनशैली र परम्परागत खेतीपातीको दृश्यले पर्यटकहरूलाई गाउँले जीवनको वास्तविक अनुभूति गराउँछ।
रिसोर्टले धार्मिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। नजिकैको आदित्य मोक्षधाममा नियमित रूपमा भजन, कीर्तन लगायत धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले भक्तजनहरूको ध्यानाकर्षण गर्दै आएको छ। राजन थापाले भने, “डाइमण्ड हिल रिसोर्टले पर्यटकहरूलाई प्रकृतिसँग नजिक जान र धार्मिक स्थलहरूको भ्रमण गर्न उत्तम सुविधा दिन्छ। हामीले आगन्तुकहरूको सहजता र सुविधा सुनिश्चित गर्न गाइड सेवा, पार्किङ, आवास लगायत सबै व्यवस्थापन गरेका छौँ।”

साउन महिनामा केही दिन मनसुनले प्रभाव पार्दै गर्दा पनि रिसोर्टमा हल्का संख्यामा गेष्टहरूको आगमन भइरहेको छ। उनले बताए अनुसार, अरनिको राजमार्ग बाहेक अन्य बाटोहरुमा अवरुद्धता हुन सक्ने भएकाले सबैलाई मुख्य राजमार्ग प्रयोग गर्न सल्लाह दिए ।
डाइमण्ड हिल रिसोर्टमा पुगेका पर्यटकहरूले यहाँको सांस्कृतिक सम्पदा, ऐतिहासिक पौराणिक कथाहरू, प्राकृतिक दृष्य र धार्मिक स्थलहरूको अनुभवलाई अत्यन्तै मन पराएका छन्। रिसोर्टले आगामी दिनमा थप पूर्वाधार विकास गरी पर्यटकहरूको अनुभवलाई अझ समृद्ध बनाउने योजना अघि बढाइरहेको छ।
