काठमाडौं । दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति मार्फत प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार बल्खुमा अराजक शैलीमा प्रदर्शन गरेपछि उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए ।
शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै स्थान उपल्बध गराउने प्रशासनले जनाएको छ ।