भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

इञ्जिनियरको इको इँटा उद्योग, महिनामा कमाउँछन् एक लाख बढी

इञ्जिनियरको इको इँटा उद्योग, महिनामा कमाउँछन् एक लाख बढी

इलाम । सूर्योदय नगरपालिका- १० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग शुरु गरेको ६ वर्ष भयो। २२ वर्षको उमेरमा उनी ‘इलेक्ट्रिकल इञ्जिनियर’ को डिप्लोमा गरेर गाउँ फर्किएका थिए।

‘१५ लाख रुपैयाँ लगानीमा शुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना-ठूला गरी ४५० भवन निर्माणमा तीन लाख ५० हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ।’ उद्योगमा उनलाई पत्नी स्वस्तिकाले पनि साथ दिएकी छिन्। उद्योगमा सात जनाले रोजगारी पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ’, उनले भने, ‘कच्चा पदार्थ महँगो छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ। महिनामा त्यस्तै एक लाख जति बचत छ।’ एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए।

ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेडको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए। उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ।’

उनको उद्योगमा इको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मठ, तारजाली र पिल्लरसमेत उत्पादन हुने गरेको छ।सापकोटा दम्पतीलाई घरगाउँ छोडेर विदेशिन मन छैन। ‘आजभन्दा ६ वर्षअघि १५ लाख खर्चेर उद्योग खोल्ने एउटा साहस नै थियो। त्यो वेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक-दुई करोड कमाइ त हुन्थ्यो होला’, प्रमोद भन्छन्, ‘गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा महँगो लाग्यो। हामी यहीँ खुशी छौँ।’

कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए। कोभिड-१९ का बेला उद्योग बन्द गर्नुपरेको स्मरण प्रमोदसँग पनि छ। उनले भने ,‘महामारीमा उद्योग ठप्प भयो। भर्खर शुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो। पुनः स्थिति सुधार भयो। अब त डर छैन।’

स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए। अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ।रासस

 


Thali Mobile Pvt.Ltd.