काठमाडौं । सगरमाथामा पछिल्लो समय हरेक वर्षजसो आरोहीको जाम लाग्ने गरेको छ । साउथ कोल भनेर चिनिने सगरमाथाको चौथो शिविर माथितिर हरेक आरोहण याममा आरोहीको भीड लाग्ने गरेको हो । मौसम अनुकूल आरोहण अवधि छोटो समय भएकाले सबै आरोही एकैपटक गन्तव्यमा पुग्नुपर्ने बाध्यताले सगरमाथामा आरोहीको जाम हुने गरेको जानकार बताउँछन् ।
सगरमाथा आरोहणको समयलाई व्यवस्थित गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या बाक्लो भए पनि ट्राफिक जाम कम हुने सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताए । चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरे मौसमी हिसाबकिताब गर्दै आरोहीहरु चुचुरोसम्म पुग्छन् । प्रतिघण्टा दुई सय किलोमिटरको वेगमा हुने चुचुरोमा चल्ने वायुले केही उत्तरतर्फ मार्ग फेर्छ ।
यस्तो विन्डो एक–दुई दिन र कहिले दिनमै धेरैपकट फेरबदल भइरहन्छ । वसन्तयाम सगरमाथा आरोहणको उपयुक्त समय हो । मे महिनामा सामान्यतया पाँच–छवटा त्यस्ता विन्डो देखिन्छन् । सगरमाथा आरोहणका लागि अलि फराकिलो विन्डो भएका बेला धेरैजसो आरोही उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीँ पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्लो विन्डोमा जान खोज्छन् ।
यस्तै परिस्थितिमाझ सगरमाथामा ट्राफिक जामको अवस्था सिर्जना हुने गरेको आरोही श्रेष्ठले बताउछन् । सगरमाथा आरोहण सुरु हुने १५ दिन अगाडि नै ‘रोप फिक्सिङ’ गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या पाँच–छ सय भएर पनि केही फरक नपर्ने आरोही श्रेष्ठको भनाइ छ । पछिल्लो पाँच वर्षयता सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ । एकैदिन एक सयभन्दा बढी आरोही चुचुरोमा पुगेको विषयले पनि निकै चर्चा पाइरहेको छ ।
वसन्त ऋतुको यो याममा पनि सगरमाथाको चुचुरोमा आरोहीको जाम भएको श्रव्यदृश्य सामाजिक सञ्जालमा छाएको छ । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६ सयभन्दा बढीले आरोहण गरेका छन् । अघिल्लो वर्ष सन् २०२३ मा हालसम्मकै बढी चार सय ७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।
उनीहरूमध्ये शेर्पा सहयोगीसहित सात सयभन्दा बढीले सगरमाथा आरोहण गरेको जनाइएको छ । आरोहीको कोटा र आरोहण समयमै तोक्न हालै सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता दिवकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो ।
उक्त आदेशानुसार अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामथ्र्यताको सम्मान गर्दै उसको सीमाको मान्यता दिनुपर्ने भनेको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथा आरोहणमा निश्चित सङ्ख्या निर्धारण हुन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा आरोहमा ‘लिमिट’ गरिनुपर्छ । सङ्ख्या बढी हुँदा आरोहीको जामलाग्ने, फोहर हुने अन्य जोखिम पनि बढ्ने हुँदा आरोहीको सङ्ख्या तीन सय हाराहारी हुँदा भीडभाड कम र फोहरमैला व्यवस्थापनमा पनि सहज हुन्छ ।”
अघिल्लो याममा १८ जनाको मृत्यु भएको थियो । यस वर्ष मकालु हिमालमा पनि दुई आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणमा रोजगारी, होटल व्यवसाय, हवाई उडान, पोर्टर आदि जोडिएको विषय भएकाले यस विषयमा नीति थितिबेगर यसो गर्ने भनेर भन्न नसकिने बताउनुभयो । तथापि सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र स्वच्छता र वातावरणमैत्री कायम गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
आरोहणको ७१ वर्ष
सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुभएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
यस वर्ष पनि नेपाल सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाइँदै छ । सोही अवसरमा आज बिहान प्रभातफेरी गरिएको छ । यस वर्षको ७१औँ सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीलाई सम्मान गर्दै हिमालको प्राकृतिक वातावरणको संरक्षण र दिगो तथा सुरक्षित पर्यटन प्रवर्द्धन गर्ने विषयलाई महत्व दिइएको विभागले जनाएको छ ।
दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
आठ हजारबढी पर्वतारोहीले गरे यात्रा पूरा
सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनले वसन्त ऋतुको यही याममा आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यस्तै गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाइन् । यस्तै फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाइन् । फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् ।
सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो । नेपालबाट पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ । एक तथ्याङ्कानुसार हालसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर–२०२३’ का अनुसार नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६ सय २६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र पाँच सय १९ जना पुगेका छन् ।
सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यसमा दुई ४० आरोही तथा चार सय १८ सहयोगी छन् । सन २०२१ मा एक सय ८३ र दुई सय ७६ सहयोगी गरी कुल चार सय ५९ जनाले सगरमाथा आरोहण गरे भने सन् २०२० मा सगरमाथामा शून्य आरोहण भयो ।
सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ सहयोगी गरी जम्मा ६ सय ४४ जनाले आरोहण गरे । यस्तै सन् २०१८ मा दुई सय ८२ आरोही तथा दुई सय ९८ सहयोगी गरी पाँच सय ६० जनाले सगरमाथा आरोहण गरेका छन् ।
