भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

आलु खेतीतर्फ आकर्षित बन्दै बागलुङका किसान

आलु खेतीतर्फ आकर्षित बन्दै बागलुङका किसान

काठमाडौं । पछिल्लो समय बागलुङका किसान आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलु खेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलु खेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलु खेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलु खेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् ।

ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलु खेतीतर्फ आकिर्षत गर्न थालेको हो । आर्थिक वर्ष २०८०।८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु खेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ रुपैयाँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि २ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलु खेतीका लागि ३ करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलु खेती विस्तार गरेको हो ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलु खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो ।

अघिल्लो वर्ष एक अर्ब ३४ करोड बराबारको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष ३ हजार छ सय ५५ हेक्टर क्षेत्रमा आलु खेती भएकामा यस वर्ष बढेर तीन हजार सात सय ८० हेक्टर पुगेको छ । जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उनले बताए ।

गत वर्ष ५९ हजार छ सय ५० टन उत्पादन भएको थियो । उनका अनुसार हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने याममा सुरु हुन थालेको प्रमुख सिलवालले बताए । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उनले बताए ।

‘आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रूपमा आलुखेती गर्दै आउनुभएका किसान अहिले प्रविधिसँग जोडिन थाल्नुभएको छ, उन्नत जातका आलु लगाउन थाल्नुभएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, पोखरा, बुटवललगायत ठाउँमा पुग्ने गरेका छन्’ प्रमुख सिलवालले भने, ‘यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।’

काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताए । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको उनले बताए । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष धेरै किसान आलुखेती गर्नतर्फ लागेका छन् ।रासस

 

 


Thali Mobile Pvt.Ltd.