भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

स्याउखेतीतर्फ आकर्षित बन्दै बागलुङका किसान,एक वर्षमै फल लागेपछि उत्साहित

स्याउखेतीतर्फ आकर्षित बन्दै बागलुङका किसान,एक वर्षमै फल लागेपछि उत्साहित

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।

यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए। गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उनले बताउ । अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन्।

खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनी बताउँछन्। तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाए । उनका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् । स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए ।

वर्षौंदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनी पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउँछन् । ‘यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ’, ओलीले भने, ‘खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।’

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक ताराबहादुर परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए । गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । रासस

 

 


Thali Mobile Pvt.Ltd.