भक्तपुर । चाँगुनारायण नगरपालिका वडानम्बर ५ छालिङ्गमा रहेको गणेश माविले विद्यालयको ४३ औँ वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम मनाएको छ । अन्धकारलाई चिर्दै शिक्षा क्षेत्रमा दीप प्रज्वलित गर्दै अविरलरुपमा असल नागरिक तयार गर्ने उद्देश्यलाई आत्मसात गरिरहेको शिक्षकहरुले बताउनु भएको छ । समाज र राष्ट्रका लागि अनवरत लम्किरहेको भन्दै आज विद्यालयले वार्षिकउत्सवमा विद्यार्थी शिक्षक, अविभावकहरुलाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्हुछेँभक्त फोजूको अध्यक्षतामा संचालन गरिएको वार्षिक उत्सव कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा साँसद प्रेम सुवालले देशमा एउटै शिक्षा लागु हुनुपर्ने बताउँनु भयो । धनी र गरिबको पढ्ने शिक्षामा फरक नगराउँन राज्यले शिक्षामा विशेष जोडदिनु पर्ने धारणा राख्नु भयो । सुवालले भन्नु भयो, ‘सरकारहरूले कक्षा १२ उत्तीर्ण लाखौं विद्यार्थीलाई आमाबुबाको घर बेच्न लगाउँदै विभिन्न देशमा पढ्न पठाउँदैछ ।
नेपालका ५–६ सय कलेजहरू विद्यार्थी अभावमा बन्द हुने अवस्था छ । सरकारले वर्षमा लाखौं नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा १७१ भन्दा बढी देशमा सस्तो ज्यामी बन्न पठाएको छ । ८० लाख भन्दा बढी नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइएको छ । वैध र अवैध बाटोबाट विदेशको डान्सबार, केयरगिभर हाउस क्लिनिङलगायत काममा पठाइएका ५–७ लाख नेपाली महिलाहरू यौन दुव्यवहार र बलात्कारलगायत अवैध गर्भधारणको सिकार भएका छन् ।
भिडियाे…
वैदेशिक रोजगारीको नाममा भइरहेको नेपाली चेलीबेटी बेचबिखन थाहा नपाएको नाटक मञ्चन सरकार गर्दै छ ।’ वार्षिकोत्सवको अवसरमा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले अथक मिहेनत र परिश्रमका साथ विद्यालय शैक्षिक जगतको एक चम्किलो ’तारापुञ्ज“ बनेको बताउँनु भयो । यसको थप प्रगतिको कामना व्यक्त गर्नुभयो । सांस्कृतिक विविधतालाई एकताको पाटोमा समेट्दै, बालबालिकाको सर्वाङ्गीण विकासको पक्षमा सुदृढ तवरले अघि बढ्न प्रेणाको स्रोत बन्न आग्रह गर्नुभयो ।
यसैबीच शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवालीले विद्यालयले शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजार, बजारलाई रोजगारी र रोजगारीलाई समृद्धिसँग जोड्नको लागि शिक्षालाई पढ्दै कमाउँदै (उद्यमशीलता) विकासमा अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानाध्यापक इन्द्र बहादुर फोजूले प्रधानाध्यापकको प्रतिवेदन २०८० प्रस्तुत गर्दै गणेश माध्यमिक विद्यालयको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्नुभयो ।
अन्धकारलाई चिर्दै शिक्षा क्षेत्रमा ज्ञानको दीप प्रज्वलित गर्दै अविरल रूपमा असल नागरिक तयार गर्ने महान् उद्देश्यलाई आत्मसात गर्दै शिक्षाको माध्यमबाट समाज र राष्ट्र निर्माणका लागि अनवरत रूपमा विद्यालय परिवार लम्किरहेको बताउँनु भयो । शिक्षाप्रेमी, बुद्धिजीवी सामाजसेवीहरूको अगुवाइ र स्थानीय जनताको सहयोगमा सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले विद्यालयको स्थापना भएकोबारे चर्चा गर्नु भयो ।
विसं २०३७ सालमा स्थापना भई वि.सं. २०४० सालमा प्रा.वि. वि.स. २०४९ मा निमावि र विसं २०६३ सालमा मावि तहको स्वीकृति प्राप्त भएकोबारे जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हछेँभक्त फोजूले वार्षिकोत्सव समारोह, अभिभावक दिवस तथा सम्मान र पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू तथा अभिभावक र पूर्व विद्यार्थी शिक्षक, विद्यार्थी पत्रकारहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुहुँदै विद्यालय स्थापनामा विशेष भूमिका खेल्ने समाजसेवी तथा शिक्षाप्रेमी बुद्धिकुमार गोसाई
र आशाकाजी बासुकलालगायत स्थानीय जनताहरूलाई विशेष धन्यवाद दिनुभयो । यसैगरी संस्थापक अध्यक्ष कूलबहादुर ह्यौंमिखा, पूर्व अध्यक्षहरू माधवप्रसाद सुवाल, बुद्धिकुमार खानिव, बिलबहादुर ह्यौंमिखा, आशाकाजी बासुकला, कृष्णभक्त फोजू र निवर्तमान अध्यक्ष मीनबहादुर बाटालगायत सदस्यहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रममा पत्रकार विनोद विकले जनवादी गित प्रस्तुत गर्नु भएको थियो भने विद्यालयका कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुति देखाएका थिए । कक्षा १ देखि १० सम्मका प्रथम दितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
