भर्खरै : Sorry, your browser does not support inline SVG.

गाजामा कुपोषणको स्तर चिन्ताजनक : डब्लुएचओको चेतावनी

गाजामा कुपोषणको स्तर चिन्ताजनक : डब्लुएचओको चेतावनी

एजेन्सी,  १३ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ। हालै पुनः राहत सामग्रीको वितरण सुरु भएसँगै डब्लुएचओले यस्तो गम्भीर अवस्था उजागर गरेको हो।

बीबीसीले जनाएअनुसार इजरायलले गाजाको केही भागमा दैनिक १० घण्टा सैनिक कारबाही रोकिने घोषणा गरेपछि राहतका मार्गहरू केही खुला भएका छन्। त्यसक्रममा जोर्डन र संयुक्त अरब इमिरेट्स (यूएई)ले हिजो गाजामा २५ टन राहत सामग्री हवाईमार्गबाट पुर्‍याएका छन्। साथै इजिप्ट र जोर्डनबाट राहत बोकेको ट्रकमार्फत गाजामा प्रवेश पनि भएको छ।

तर राहत वितरण सुरु भए पनि गम्भीर सुरक्षा चुनौतीहरू अझै कायम छन्। राहत मार्ग नजिकै इजरायली गोलीबारीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्। अस्ति शनिवार युद्धविराम लागु भएको एक घण्टाभित्रै गाजाको एक आवासीय भवनमा आक्रमण भएको थियो। यसैगरी, मध्य गाजाको नत्जारिम कोरिडोरमा राहतको पर्खाइमा रहेका सर्वसाधारणमाथि समेत गोली चलाइएको थियो।

इजरायली सेनाले भने शंकास्पद समूह नजिक आएपछि चेतावनी स्वरूप गोली चलाइएको दाबी गरेको छ। उनीहरूले घाइते वा मृतकको विवरण नभएको बताएका छन्। सहायता संस्थाहरूले भने सीमित मात्रामा राहत प्रवेश हुँदा अराजकता बढ्ने चेतावनी दिएका छन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “युद्धको लक्ष्य प्राप्त नभएसम्म लडाइँ जारी रहने” बताउँदै सुरक्षित मार्ग पूर्वदेखि नै रहेको र अहिले औपचारिक रूप दिएको दाबी गरेका छन्। तर संयुक्त राष्ट्रसंघले इजरायलमाथि राहत संकलन तथा वितरणमा अनेकौं अवरोध खडा गरिरहेको आरोप लगाउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.